सानु शेर्पा र लाल बहादुर वाईवाको टोलीले सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमालको सफल आरोहण गरेका छन्।
नेपाली समय अनुसार कात्तिक २१ गते सोमबार अपरान्ह ४ बजे शेर्पा र वाइवाको टोलीले एकसाथ गाङछेँपो हिमालको आरोहण गरेको दलका संयोजक तथा मोगानका अध्यक्ष संजिव गुरूङले जानकारी दिए।
‘हाईक्याम्प (४७०० मिटर) बाट करिब १२ घण्टा लगाएर नयाँ रूट खोल्दै हाम्रा दुई पर्वातारोहीले सफतापूर्वक हिमालको आरोहण गरेका हुन्,’ उनले भने, ‘बाटो सामान्य थियो, हाम्रा आरोही बिना कुनै झन्झट सजिलै नयाँ रूट खोलेर चुचुरोमा पुग्न सफल भएका हुन्।’
इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी'एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्को सहित नेपाली आरोहीको एक टोली आरोहणको लागी ओक्टोबर २९ मा त्यसतर्फ प्रस्थान गरेको थियो।
आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा ८ हजार मिटर हिमालको दोहोरो आरोहण गरेका विश्व प्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा गएका थिए।
दिगो पर्यटनद्वारा स्थानीय समुदायको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रूट खोल्ने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रविन्द्र आर्यालले जानकारी दिए।
गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्त रुपले सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामू ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गरिएको हो।
गाङछेँपो हिमाल आरोहणका लागि सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन) ले गरेको गुरूङले बताए।
आरोहण टोलीले काठमाडौंदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्यालीहुँदै दक्षिण वेसक्याम्पसम्म पैदलयात्रा गरेका थिए।
वेसक्याम्प (४८०० मिटर) बाट आरोहण सुरू गरेको टोली सोमबार ४ बजे गाङछेँपो हिमालको चुचुरोमा पुगेको थियो।