नेपाली पर्वतारोही सानु शेर्पाको पाइला पछ्याउँदै रविन्द्र आर्यलसहित अन्य दुई नेपाली आरोहीले पनि गाङछेँपो हिमालको सफल आरोहण गरेका छन्।
सानु शेर्पा र लाल वहादुर वाईवाले सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिन भित्रै शुक्रबार दिउँसो ११ बजे अन्य ३ जना चुचुरोमा पुगेका हुन्।
अरोहण गर्नेमा नेपाली माउन्टेन गाइड रामकाजीसहित गरिमा भोयजका अध्यक्ष रविन्द्र अर्याल र न्यु भिजन नेपालका अध्यक्ष अशोक भट्ट छन्।
मोगानका महासचिव समेत रहेका रामकाजीले क्याम्प-१ बाट सजिलैसँग ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएको जानकारी दिए।
नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तब्य थपिएको उनको भनाइ छ।
गाङछेँपो हिमालको रूट पत्ता लगाउदै केही दिन अगाडि मात्रै आरोही सानू शेर्पा र लाल वाइबाले पहिलो पटक सिन्धुपाल्चोक तर्फबाट चुचुरोको सफल आरोहण गरेका थिए।
‘यसअघि पहिलो क्याम्पबाट करिब १२ घण्टा लगाएर नयाँ रूट खुलाउँदै हाम्रा दुई पर्वातारोही टोलीले सफतापूर्वक आरोहण गर्न सफल भए,’ सेटेलाईट फोनमार्फत आरोहण दलका संयोजक तथा मोगानका अध्यक्ष संजिव गुरुङले भने,‘बाटो सामान्य थियो, हाम्रो आरोही विना कुनै झन्झट सजिलै नयाँ रूट खुलाएर चुचुरोमा पुग्न सफल भएका छन्।
इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तराष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी'एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्को सहित नेपाली आरोहीको एक टोली आरोहणको लागि ओक्टोबर २९मा त्यसतर्फ प्रस्थान गरेका थिए।
आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा ८ हजार मिटर हिमालको दोहोरो आरोही विश्व प्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा शेर्पाको साथ थियो ।
दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रुट खुलाउने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रविन्द्र आर्यालले वताए।
गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्त रुपले सुरू गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामू ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको उनले जानकारी गराएका थिए ।
गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेका हुन् भने सम्पुर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।
आरोहण टोलीले काठमाडौंदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए। त्यसपछि टुपी, डाँडा,नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्यालीहुँदै दक्षिण वेसक्याम्पसम्म पैदलयात्रा गरेका थिए।
अरोहण टोली काठ्माडौंबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए। १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै नेपाली माउन्टेन गाइड सानू शेर्पा र लाल वाइबा चुचुरोमा पुगेका थिए।
१४ दिनमा सानु शेर्पाले दोहोर्याउँदै अन्य तीन आरोही गाङछेँपो हिमालको चुचुरो सफलतापूर्वक आरोहण गरेका हुन्।
तस्बिरहरूः-गाङछेँपो हिमाल आरोहण दल।