जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ।
कार्ययोजना निर्माणका लागि परियोजनाले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायहरूबीच कार्यशाला समेत आयोजना गरिसकेको छ।
उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व लगायत विषयवस्तुमा छलफल भएको हो।
परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने जानकारी दिए।
जसअनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एसोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरूसँग मिलेर कार्ययोजना तयार गर्न लागेको हो।
प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरुले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्धार प्रणाली,पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरूले स्थानीय खाद्यान्न तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए।
लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरुले आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिए।
यस्तै, सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवर्द्धनको लागि छुट्टै आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति एवम् ठोस योजना आवश्यक रहेको बताए।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कोरोनाका कारणले रोजगार र आयआर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरूले अल्पकालिन रोजगारको अवसरहरू दिने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना सञ्चालनमा ल्याइएको थियो।
यसै सन्दर्भमा परियोजनाले कोरोनाले पर्यटन व्यवसायीहरू तथा जनशक्तिहरूमा परेको प्रभावलाई मूल्याकंन गरी आगामी दिनहरुमा विपत्ती तथा चुनौतीहरूसँग सामना गर्न सक्नेगरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गर्न लागेको परियोजनाका जिकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए।
उनले यस प्रकारका कार्यशाला सबै प्रदेशमा आयोजना गरिने र सो को आधारमा रणनीति तय गरिने समेत जानकारी दिए।