पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाइ जहाजले मंसिर ५ गतेदेखि क्यालिब्रेसन उडान गर्ने भएको छ।
उक्त विमानस्थलमा क्यालिब्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोथाइलाई अनुमति दिएको हो।
प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।
यसका लागि एरो थाइ कम्पनीको जहाज गत आइतबार नै नेपाल आइसकेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनकाअनुसार जहाजले अधिकतम छ घण्टा उडान गर्नेछ। परीक्षण एक सातासम्म रहने उनले बताए।
'आगामी सोमबारदेखि एक सातासम्म दैनिक ६ घण्टा एरो थाइले पोखरामा क्यालिब्रेसन उडान गर्नेछ' उनले सेतोपाटीसँग भने, 'त्यसबीचमा अन्य विमानस्थलमा पनि नियमित चेकजाँचको काम गर्नेछ।'
सूचना अधिकारी भुलकाअनुसार उक्त जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा रहेका अन्य विमानस्थलको कम्युनिकेशन, नेगिभेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ। एरो थाइ डिसेम्बर ५ सम्म नेपालमै हुनेछ।
पोखरा विमानस्थलको क्यालिब्रेसन उडान सकिएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ।
परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउनेछ।
सरकारले १ जनवरी २०२३ (पुस १७)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ।
विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने बुद्ध एयरले तयारी गरिरहेको छ।