सौर्य एयरलाइन्सले पहिलो पटक काठमाडौं–पोखरा उडान गर्ने भएको छ।
एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीबाट जेट विमानमार्फत आन्तरिक उडान सुरू गर्ने भएको हो।
सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा–काठमाडौं दैनिक चार उडानको तयारी गरेको जनाएको छ।
यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने काम भइरहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।
'उडानका लागि लिखित रूपमा अनुमति पाउन बाँकी छ। विमानस्थलको क्यालिब्रेसन सकिएपछि प्राधिकरणसँग सहकार्यमा जान्छौं' खनालले सेतोपाटीसँग भने, 'विमानस्थल सञ्चालनमा आउनसाथ आन्तरिकतर्फ जेट विमानमार्फत पहिलो उडान सौर्यले गर्नेछ।'
साथै सौर्यले यही मंसिरबाट काठमाडौं–नेपालगञ्ज पुनः उडान गर्ने तयारी गरिरहेको छ। करिब दुइ वर्षअघिदेखि सौर्यले यो गन्तव्यमा उडान बन्द गरेको थियो।
एयरलाइन्सले हाल विभिन्न ६ गन्तव्यमा उडान गरिरहेको छ।