उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री-वितरण गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई ध्यानाकर्षण गराएकाे छ।
विगत केही दिनदेखि केही वायुसेवा कम्पनीले अनुमति प्राप्त नगरी चार्टर उडानको नाममा टिकट बिक्री-वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ।
प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीहरूलाई ध्यानाकर्षण गराएकाे हाे। साथै प्राधिकरणले अनुमति लिएर मात्र यात्रुलाई टिकट बिक्री-वितरण र उडान गर्न अनुरोध गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ अनुसार नेपालको हवाइ क्षेत्रमा उडान अवतरण गर्न कुनै पनि वायुसेवा कम्पनीले प्राधिकरणको अनुमति लिनुपर्ने अनिवार्य कानुनी व्यवस्था छ।
सो व्यवस्था बमोजिम उडान गर्नुपूर्व प्राधिकरणबाट अनुमति प्राप्त गरेपश्चात मात्र सम्बन्धित उडानको टिकट बिक्री-वितरण गर्न गराउन प्राधिकरणले सम्बन्धित वायुसेवा कम्पनी र जिएसएलाई निर्देशन दिएको हो।
आगामी दिनमा अनुमतिबिना टिकट बिक्री-वितरण गरी विमानस्थलमा यात्रुहरूको विचल्ली एवं अनावश्यक भिडभाड गराई विमानस्थलको सुरक्षा व्यवस्थामा खलल पार्ने कार्य गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनी/ जिएसए/व्यक्तिलाई गैरसैनिक हवाइ उडान ऐन, २०१५ तथा नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ अनुसार कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।