पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका गर्न बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ २०२३ बाट सुरू हुने गरी बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको बताएको छ।
धेरै वर्षको मेहनत र खर्चपछि यो पूर्वाधार साकार भएको बुद्ध एयरले बताएको छ।
अब यस विमानस्थलको भरपूर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवम् बाह्य) पोखरा र गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुलेको जनाइएको छ।
विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जिवनस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्ने बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको सुरूवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान गर्ने कार्यतालिका बनाएको छ।
जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्नेछन्।
अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान गर्नेछन्।
यसैगरी बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको जनाएको छ।
सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान गर्न के कस्ता प्रकारका जहाजहरू कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बद्ध एयरका प्राविधिक टिम अध्ययनरत रहेको छ।
निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने पनि विज्ञप्तिमा उल्लेख छ।
एयरका अनुसार नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने र खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ व्यवस्था एकीकृत हुन जरुरी छ।
बुद्ध एयर देशैभरी उसको गन्तव्यमा आफैंले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ।
बुद्धसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको बताइएको छ।
बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ।
एयरले विज्ञप्तिमा आन्तरिक एवम् भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरूले सस्तो तर गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको समेत जनाएको छ।