पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन (यान्त्रीक परीक्षण) उडान सकिएको छ।
थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले मंसिर ५ गतेदेखि ११ गते (२१ नोभेम्बर–२७ नोभेम्बर) सम्म विमानस्थलमा क्यालिब्रेसन उडान गरेको थियो।
विमानस्थलको यान्त्रिक परीक्षणमा ४ वटा प्रविधि तथा उपकरणको परीक्षण गरिएको विमानस्थलले जनाएको छ।
एक साताको अवधिमा विमानस्थलको डिभिओर, आइएलएस, डिएमआई र पिएपिआइको मुख्य परीक्षण भएको विमानस्थल आयोजना प्रमुख बिनेश मुनाकर्मीले जानकारी दिए।
उनकाअनुसार सात दिनको क्यालिब्रेसन उडानका क्रममा उक्त विमानमार्फत विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणको अवस्था कस्तो छ र तिनीहरूले काम गरे/नगरेको जाँच गरिएको छ।
क्यालिब्रेसन उडान सकिएसँगै अबको केही दिनमा एरो थाइले प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।
उनकाअनुसार कम्पनीले बढीमा दुई सातामा प्रतिवेदन पेश गर्ने बताएको छ।
'रिपोर्ट आएपछि विमानस्थलको परीक्षण उडान हुनेछ' उनले सेतोपाटीसँग भने, 'परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरूले अनुमति पाउनेछन्।'
सरकारले १ जनवरी २०२३ (पुस १७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ।