नेपाली वायुसेवालाई कालोसूचीमा राख्दै आएको युरोपेली युनियन (इयू) टोली उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न फेरि नेपाल आउने भएका छन्।
इयूले पछिल्लो पटक अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ।
'एभिएसन सेफ्टी लिस्ट' मा नेपाललाई निरन्तरता दिएको इयू मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा) ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको हो।
यसअघि इयूको टोली गत अक्टोबरमा नेपाल आएको थियो।
उक्त टोलीले अक्टोबर ६ गतेदेखि ८ गते (३ दिन) सम्म नेपालमा हवाई सुरक्षाबारे अडिट गरेको थियो।
टोलीले नोभेम्बर १० देखि ११ मा आफ्नो प्रतिवेदन इयू एयर सेफ्टी कमिटीमा बुझाएको थियो। त्यसपछि इयूले नयाँ एयर सेफ्टी लिस्ट निकालेको थियो।
इयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा इयूले 'अनसाइट असिस्मेन्ट भिजिट' गर्न लागेको जानकारी दिएका छन्।