काठमाडौंबाट थाइल्यान्डको बैंककका लागि उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बंगलादेशमा आकस्मिक अवतरण भएको छ।
जहाजमा प्राविधिक समस्या भएको संकेत देखिएपछि साँझ ५:१३ बजे बंगलादेशमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
जहाजमा एक सय ५२ यात्रु सवार थिए।
ठाकुरका अनुसार बंगलादेशमा आकस्मिक अवतरणपछि जाँच गरी निगमको न्यारोबडी ए ३२० जहाजले पुनः उडान भरेको छ। साँझ ५:४५ मा जहाजले बंगलादेशबाट थाइल्यान्डका लागि पुनः उडान भरेको उनले बताए।
'इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो। त्यस्तो संकेत देखिएपछि नजिकैको विमानस्थलमा अवतरण गरेर जाँच गर्नुपर्ने हुन्छ,' उनले भने।
यहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो। जाँचका क्रममा जहाजमा समस्या नभएको देखिएपछि केही समयमै बंगलादेशबाट बैंककका लागि पुन: उडान भएको उनले जानकारी दिए।