त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) पनि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ।
थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।
एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार विमानस्थलमा आज बेलुकासम्म क्यालिब्रेसन सकिनेछ।
क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ।
यसअवधिमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए। 'क्यालिब्रेसन उडान सुरू भएकाले विमानस्थलबाट हुने आजका उडानमा एक/डेढ घण्टा ढिलाइ हुनेछु उनले भने', 'हिजोदेखि सुरू भएको क्यालिब्रेसन आज सकिनेछ।'
क्यालिब्रेसन अवधिभर विमानस्थलबाट उडानका लागि सम्बन्धित वायुसेवाले यात्रुलाई सूचना पठाइसकेका छन्।