पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ तयारी गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निर्देशन पाएको छ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई तयारी गर्न निर्देशन दिएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार २०७७ साल मंसिर १७ गते बसेको प्राधिकरणको बोर्ड बैठकले भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई दिइने निर्णय गरेको थियो।
सोही निर्णयमा टेकेर पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङको तयारी गर्न निगमलाई निर्देशन दिएको उनले बताए।
यसअघि निगमले प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङको सेवा उपलब्ध गराउन निगमले अनुरोध गरेको थियो। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ।
निगमले हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेको जनाएको छ।
साथै, आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको समेत निगमले बताएको छ।