हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरू सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष सहित दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ।
मंसिर १५, १६ र १७ गते काठमाडौंको चन्द्रागिरीमा सम्पन्न सम्मलेनमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रूपमा मनाउने घोषणा गरे अनुरुप यस दिवसको पूर्व सन्ध्यामा विश्वका विभिन्न देशबाट सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरूले हिमालहरूको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानविय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरूलाई सुझाव दिए।
कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारत लगायतका देशका विज्ञहरूले प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत जोडिएका थिए।
त्यस्तै नेपालका पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय, होकाइदो युनिर्भसिटी जापान, युनिर्भसिटी अफ कोलोराडो अमेरिका, जीएलपी जापान, डब्ल्यूडब्ल्यूएफ नेपाल, इसिमोड, युएनडिपी लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल हिमालयको देश भएको र नेपालमा आयोजना गरिएको यस कार्यक्रमबाट हिमालयको दीगो विकास र संरक्षणमा सकारात्मक सन्देश प्रभाव गर्न मद्दत पुगेको बताए।
कार्यक्रमका प्रमुख वक्ता कोलोराडो विश्वविद्यालयका प्राध्यापक डा.अल्टन सी वायरले जलवायू परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्दै हिमालयको संरक्षणमा एकीकृत प्रयासका लागि एकजुट हुन कार्यक्रमले सहयोग गरेको बताए।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यस सम्मेलनले हिमालको दीगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सन्देश प्रभाव गर्र्न सफल हुने विश्वास लिएको बताए।
सम्मेलनमा उठेका विषय अनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले केही मार्ग दर्शन गरेको र सम्मेलन सफल भएको बोर्डका आधारमा सहयोग गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।
कार्यक्रममा विभिन्न विषयमा ६६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो।