बुद्ध एयरले पहिलो व्यवासायिक उडान थालेको दुइवटा बिचक्राफ्ट बिक्रीको तयारी गरेको छ। बिक्रीका लागि अन्तिम प्रक्रियामा पुगेको कम्पनीले जनाएको छ।
कम्पनीका बिक्री निर्देशक रूपेश जोशीकाअनुसार हाल दुबै जहाज बिक्रीका लागि क्यानेडियन कम्पनीसँग छलफल भइरहेको छ। यही साता बिक्री सम्झौता हुने उनले जानकारी दिए।
बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान गरेको थियो।
कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरे। विगत तीन वर्षदेखि भने कम्पनीले यी जहाज बिक्रीका लागि राखेको जोशीले बताए।
'बिचक्राफ्ट उडानमा फ्युलको लागत पनि बढी छ' उनले भने, 'कम्पनीसँग ठूला जहाज थपिदैँछन्, त्यसकारण पुराना जहाज बिक्री गर्न लागेको हो।'
हाल दुईवटा विचक्राफ्टले दैनिक ५ वटासम्म उडान गरिरहेका छन्। कम्पनीकाअनुसार बिचक्राफ्टले पोखरा, भरतपुर लगायत गन्तव्यमा उडान गरिरहेको छ।