नेपाल वायुसेवा निगम (नेपाल एइरलाइन्स)ले ५ वटा चिनियाँ जहाज बिक्रीका लागि प्रक्रिया सुरू गरेको छ।
चिनियाँ जहाज भाडामा लिन कसैले चासो नदिएपछि निगमले २ वटा एमए–६० र ३ वटा वाई–१२ जहाज बिक्रीका लागि मूल्यांकन प्रक्रिया अघि बढाएको हो। जहाजको मूल्यांकनका लागि हाल कम्पनी छनोट गर्न टेन्डर आह्वन गरेको छ।
यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको छ।
निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना जारी गरेको हो।
यसअघि निगमले सेप्टेम्बर र नोभेम्बरमा २ पटकसम्म जहाज भाडामा दिने गरी टेन्डर गरेको थियो।
भाडामा लिन कसैले चासो नदिएपछि निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ सोही अवस्थामा मूल्यांकन गर्न लागेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। २०७७ साल साउनदेखि पाँच वटै जहाज ग्राउन्डेड छन्।
प्रवक्ता खड्काकाअनुसार यी जहाजको हकमा सरकारले यसअघि दुईवटा विकल्प दिएको थियो।
'जहाज लिजमा दिने यदी लिजमा गएन भने बिक्रीमा जाने गरी अर्थमन्त्रालयसँग सहमति भएको थियो' उनले भनिन् 'लिजमा कसैले पनि चासो नदिएपछि निगम दोस्रो विकल्पमा जान लागेको हो।'
मूल्यांकनलाई आधार बनाएर निगमले यी जहाजको मूल्य तोक्नेछ।