काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकलाई सहज बनाउन ‘हप-अन हप-अफ’ सिटी बस सञ्चालन हुने भएको छ।
उपत्यकाका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्र अवलोकनमा सहज होस् भनेर सुरू गर्न लागिएको ‘हप-अन हप-अफ’ सिटी बसको आइतबार क्षेत्रगत अवलोकन समेत गरिएको छ।
अवलोकनमा बस व्यवसायी, विज्ञ, ट्राफिक प्रहरी, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहभागिता थियो।
काठमाडौंमा पर्यटकहरूलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा खेप्नुपरेको हैरानीलाई सम्बोधन गर्दै सिमित भाडामा रूटभरी यात्रा गर्न पाउने गरी तयारी थालिएको हो।
काठमाडौंका विश्व सम्पदा सुचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘हप-अन हप-अफ’ बस सञ्चालन भएपछि पर्यटकहरु केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन्।
‘हप-अन हप-अफ’ का लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका विद्युतीय साझा बसले सेवा दिनेछ।
अभियानको पहिलो चरणमा साझा यातायातका ६ वटा विजुली बसलाई प्रयोग गर्ने तयारी भएको छ।
साझा यातायात संचालक समितिका सदस्य भुषण तुलाधरले २-३ महिना भित्रै व्यवसायीक रूपमा बस सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए।
अपाङ्गता तथा जेष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन्। ४५ किलोमिटर यात्रा पार गर्न बसलाई साधारण अवस्थामा साढे ३ घन्टा समय लाग्नेछ। बस तीस-तीस मिनेटमा छुट्नेछन्।
यसैबीच पर्यटन पुनरूत्थान कार्ययोजनामा ‘होप अन होप अफ’ बस सञ्चालनलाई प्राथमिकता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पर्यटन क्षेत्र विकासको लागि सांस्कृतिक सम्पदालाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाएको छ।
पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्ने योजना अनुसार होप अन होप अफले सम्पदा यात्रा सुरू गर्न लागिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए।
यसको प्रचार प्रसार र प्रवर्द्धन पर्यटन बोर्डले गर्ने जानकारी दिँदै ऐरले हान, टान र पर्यटन क्षेत्रसँग सम्बन्धित पर्यटन व्यवसायीलाई जोड्ने र सेवा लिन प्रेरित गराउने आफूहरूको उद्धेश्य हुने बताए।
‘अन्तर्राष्ट्रियस्तरमा म्यासेज राम्रो जाने भएकाले निजी क्षेत्रको चाहना अनुसार नेपाल आएका जति पनि पर्यटकलाई यसबारे जानकारी दिनेछौ’, उनले भने, ‘यसबा हुने अनावश्यक सवारी चाप पनि घटाउँछ। गुणस्तरीय सेवा दिन्छ। निकट भविश्यमा भक्तपुर र चाँगुनारायणलाई पनि जोड्नेछौ।’
पुल्चोकस्थित साझाबाट सुरू हुने सेवा ललितपुर महानगरपालिका पछाडिको पर्यटक बसपार्क- पुल्चोक-कुपण्डोल, थापाथली, सहिदगेट - सुन्धारा - जमल- दरबारमार्ग - कमलपोखरी-नक्साल भगवतीबहाल- मैतीदेवी- गौशाला- गुह्वेश्वरी- तारागाउँ- बौद्ध - चाबहिल- महाराजगन्ज- स्वयम्भु- छाउनी-कालीमाटी-बल्खु-एकान्तकुना-जावलाखेल रूटमा हुनेछ।
ललितपुर दरबार परिसर घुम्न आउने पर्यटकले ललितपुर महानगरपालिका पछाडि रहेको पर्यटक बसपार्कबाट चढ्ने र ओर्लन पाउँछन्।
यस्तै काठमाडौं दरबार परिसर घुम्न चाहने पर्यटकले नेपाल एयरलाइन्स अगाडिबाट चढ्ने र ओर्लन पाउनेछन्।
यस्तै नारायणहिटी दरबार संग्रहालयको स्टमा टिकट काउन्टर, कफी स्टेसन र चार्जिङ स्टेसन राखिनेछ। यहाँबाट विशेषगरी ठमेल जाने-आउने पर्यटकलाई सहज हुन्छ।
यस्तै गौशालाको पशुपति क्षेत्र विकास कोष अगाडिको पर्यटक बसपार्कमा पनि पशुपति क्षेत्र घुम्न गएका र घुम्न चाहने पर्यटकले पढ्न र ओर्लन पाउँछन्।
यस्तै तारागाउँ विकास समितिबाट बौद्ध घुम्ने पर्यटकले लाभ लिन सक्छन्।
यस्तै महाराजगन्ज, स्वयम्भु, छाउँनी, परोपकार, कालीमाटी, बल्खु र जावलाखेलबाट पनि यात्रु चढ्न र ओर्लनसक्नेछन्।
हप-अन हप-अफ बसमा टिकटको व्यवस्था गर्ने भएकोले घरी घरी बसमा चढेपछि यात्रुले भाडा तिर्नुपर्दैन। एक पटक टिकट लिएपछि त्यो दिनभर प्रयोग गर्न मिल्छ। जुनसुकै स्थानमा झर्न र चढ्न पाइनेछ। पर्यटकले एपको माध्यमबाट बस कतिखेर कहाँ पुग्छ भन्ने जानकारी पाएपछि सोही अनुसार चढ्ने गर्छन्।
एक पटकमा बसले ५० जना सम्म यात्रु बोक्नेछ। हप-अन हप-अफ बस विशेषगरी पर्यटकलाई केन्द्रीत गरेर सञ्चालन गर्ने भएकाले उक्त बसमा हरेक स्टपबारे जानकारी, पर्यटकीय क्षेत्रको सानो भिडिओ क्लिप, ब्रोसर, म्याप, खानेपानीलगायत राखिनेछ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरका अनुसार रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने भएकाले त्यसबारेमा पनि सम्भाब्यता अगाडि बढाइएको जानकारी दिए।
‘हामीले रात्रीकालिन सम्पदा यात्रा सुरू गरिसकेका छौ। अहिले कीर्तिपुरबाट सुरू भएको यात्रा उपत्यकाका सबै सम्पदामा गर्नसके काठमाडौंको कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने छ’, उनले भने,‘यसलाई हामी चाडै नै बिस्तार गर्नेछौ।