रिफ्युलिङको सुविधापछि दाङमा जहाज उडान संख्या थपिएको छ।
अबदेखि सोमबार र बुधबार बाहेक सातामा पाँच दिन उडान हुने भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ विमानस्थलका प्रमुख गणेश अर्यालले सातामा पाँच दिन उडान भरिने बताए। तुलसीपुरबाट हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म विमान उड्ने गरी नयाँ तालिका केन्द्रबाट आएको उनले बताए।
मंसिर २५ गतेदेखि सेवा सुरु भएको छ दशक पछि टरिगाउँ एयरपोर्टमा इन्धन डिपो सञ्चालनमा आएको थियो। रिफ्यूलिङको सुविधा पछि उडान संख्या थप्न सहज भएको हो।
कोभिडको दोस्रो लहर आउनुभन्दा केही पहिलेसम्म यो एयरपोर्टबाट दैनिक दुइटा उडान हुँदै आएको थियो। योभन्दा पहिलेसम्म टरिगाउँ एयपोर्टबाट सातामा कहिले दुई र कहिले तीन दिनमात्रै उडान हुने गरेको थियो।
प्रमुख अर्यालका अनुसार नेपाल वायु सेवा निगमको एउटा विमानमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेट भएपछि विमान अभावका कारण उडान संख्या घटेको जानकारी दिए। यहाँ निगमको १९ सिटे ट्विनअटर विमानले सेवा दिँदै आएको छ।
इन्धन डिपो सञ्चालनमा आएपछि विमानको उडान संख्या बढाउन थप सहज भएको उनले बताए। रिफ्युलिङको सुविधा थपिएपछि पहिले दाङ–काठमाडौं उडानमा कम्तिमा १३ जना यात्रु बोक्ने मिल्ने अवस्था थियो भने अब १७ जनासम्म यात्रु बोक्न मिल्ने सुविधा थपिएको पनि उनले बताए।
रिफ्युलिङको सुविधा टरिगाउँ एयरपोर्टमा थपिएपछि विमानले इन्धन बोकेर ल्याउन सिटमा यात्रुलाई राख्न मिल्ने अवस्था सिर्जना भएको हो। रिफ्यूलिङको सुविधा थपिएपछि यात्रुले भाडा दरपनि केही सस्तो हुने अपेक्षा गरेका थिए। तर भाडादर भने पुरानै कायम रहेको छ।
हाल दाङ–काठमाडौं न्यूनतम भाडा ८ हजार ८ सय १० कायम गरिएको छ भने अधिकतम १२ हजार ६ सय ६५ सम्म छ। काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैंया बढी भाडा निर्धारण गरिएको छ। यो भाडा दर दाङ भन्दा झन्डै एक सय १५ मिटर पश्चिम दक्षिणको बाँकेस्थित राँझा विमानस्थल भन्दा बढी हो।
धावन मार्ग विस्तार गर्न सर्भे तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा टरिगाउँ बिमानस्थल विस्तारका लागि पहल गर्न गठित समितिकी संयोजक श्यानी चौधरीले विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको बताइन्।
टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारका लागि तीन दिन बसेर सर्भे गरेर इञ्जिनियरसहितको टोली शनिबार दाङबाट फर्किएको उनले जानकारी दिइन्।
‘अब उहाँहरुले गरेको सर्भेको आधारमा डिटेल सर्भेको रिपोर्ट तयार हुने छ र त्यसपछि ७२ सिटे विमानस्थल अवतरण गर्नका लागि धावनमार्ग विस्तारको लागि पहल हुनेछ,’ उनले भनिन्, ‘त्यसो भएमा मात्रै दाङबाट सर्व सुलभ भाडा दरमा हवाइ सेवा दिन सम्भव हुनेछ।’
पछिल्लो समय एयरपोर्टको नयाँ टावर निर्माणको काम पनि धमाधम भइरहेको छ। एक करोड बजेट बिनियोजना गरेर काम भइरहेको छ। डिटेल सर्भेको रिपोर्टपछि धावनमार्ग विस्तार गर्न थप बजेट आवश्यक पर्ने र त्यसका लागि आफूले केन्द्रमा पहल गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताए।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता गिरीले निर्वाचनका क्रममा टरिगाउँ एयरपोर्ट विस्तारको मुद्दालाई प्रमुख रुपमा अगाडि सारेका थिए।
‘नेपालको ए लेभलको डोमेष्टिक एरपोर्टका रुपमा टरिगाउँ एयरपोर्टलाई विकास गर्न म केन्द्रमा लडाइँ नै लड्नु परेपनि पछि पर्ने छैन,’ उनले भने, ‘नेपालकै पुरानो मध्यको एरपोर्टलाई ओझेलमा पार्न कुरा कदापी स्वीकार्य हुन सक्दैन।’
काठमाडौंदेखि बाँकेभन्दा नजिकको जिल्ला दाङबासीले त्योभन्दा सस्तो दरमा यात्रा पाउन सक्ने गरी एयरपोर्टको धावनमार्ग विस्तारमा आफू लागि पर्ने उनले प्रतिवद्धता ब्यक्त गरेका थिए।
‘मलाइ त्यस भेगका नागरिकले त्यही भएर निर्वाचित गरी पठाएका हुन,’ उनले थपे, ‘म यो काम कुनै पनि हालतमा पूरा गर्न लाग्ने छु।’
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पालामा ९ महिने सिँचाइ मन्त्री हुँदा आफ्नै पहलमा झन्डै तीन साता बसेर डिटेल सर्भे भएपनि केही नेताहरुको स्वार्थका कारण विमानस्थल अर्कै ठाउँमा निर्माण गर्ने षड्यन्त्र भएको भन्दै त्यसलाई चिरेरै देखाउने उनले अठोट ब्यक्त गरे।
माओवादीका पूर्वनेता लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाउँ एयरपोर्टको धावन मार्ग कालेपत्रे गरिएको थियो। तर त्यो जम्मा ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको मात्रै रहेको छ।
प्राविधिक त्रुटिवश धावनमार्ग विस्तार गरेर १५ सय मिटर पुर्याउन प्रशस्तै सम्भावना रहँदा रहँदै त्यस्तो गरिएको भन्दै अब त्यसलाई सच्याउन आफू लाग्ने उनले बताए।
दाङको ३ (१) बाट निर्वाचित कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले पनि विमानस्थल विस्तार आफूहरूको प्रमुख एजेण्डा रहने बताए। हाल चौधरी लुम्बिनीको सम्भावित मुख्यमन्त्रीका दौडमा रहेका ब्यक्ति हुन्।
‘मलाइ मुख्यमन्त्री हुन दिनुहोस्। केन्द्रमा पनि कांग्रेस नेतृत्वको सरकार बनेमा जिल्लाका सबै जनप्रतिनिधिको साथ सहयोगमा एयरपोर्ट विस्तारको काम गर्न लाग्नेछौं,’ उनले भने।
उनले निजी विमान सञ्चालक कम्पनीसँग दाङमा उडान भर्नका लागि पहल गरिनेसमेत बताए। तुलसीपुरका प्रतिष्ठित व्यवसायी विमल रिजालले पनि विमानस्थलको विस्तार नगरेसम्म जिल्लाको विकास र पर्यटन प्रवर्द्धन सम्भव नरहेको बताए।
उनी टरिगाउँ विमानस्थलको धावनमार्ग बिस्तारका लागि निरन्तरलाई सबैसँग हारगुहार गर्दै आएका ब्यक्ति मध्यका एक हुन्।
‘विमानस्थलको विस्तार सुरू भए मात्रै यहाँ पाँच तारे होटेल खुल्न सुरु हुने छन् र ठूला मेडिकल कलेजहरु स्थापना हुनेछन्,’ उनले भने, ‘लुम्बिनी प्रदेशको राजधानी हुनुको नाताले पनि टरिगाउँ एयरपोर्ट बिस्तार अति जरुरी छ।’
त्यसो हुन सकेमा मात्रै यस क्षेत्र सर्वसाधारण यात्रु हवाई सेवाका लागि नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यताको अन्त्य हुने र त्यसले समावेसी विकासको जग बसाल्ने उनले तर्क गरे।
‘संघीयताको मर्म जहाँ विकास पहिलै छँदैछ त्यही मात्रै थप बिकास गरि रहने हुँदै हैन,’ उनले थपे, ‘एसियाकै ठूलो उपत्यका र समथर भू-भाग भएको जिल्ला दाङको विकास क्षेत्रीय स्वार्थको टकराबका कारण ओझेलमा पर्दै आएको छ।’
जसले गर्दा सुगम ठाउँका रुपमा लिइने दाङ र आपसका पहाडी जिल्लाका सर्वसाधारण नागरिकले हवाई सेवाका लागि ठूलो सास्ती तथा अनावयश्क बढी ब्ययभार उठाउनु परेको उनले तर्क गरेका छन्।