नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का क्याबिन क्रुहरूले आन्दोलन गर्दा निगमको ३ करोड बढी नोक्सानी भएको छ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन समितिले आइतबार विज्ञप्ति निकाल्दै क्याबिन क्रु को दुई दिने आन्दोलनले निगमलाई ३ करोडभन्दा बढी आर्थिक नोक्सानी भएको बताएको छ।
गन्तव्य मुलुकमा कनेक्टिङ उडानमार्फत जाने यात्रुको उडान छुट्दा करिब ७५ जना जति यात्रुहरूको निगमले टिकट खरिद गरी पठाउँदा साथै निगमको नेपाल र विदेशस्थित स्टेशनहरूमार्फत यात्रुहरूलाई होटल व्यवस्थापन गर्दा उक्त रकम बराबरको नोक्सानी भएको समितिले जनाएको छ।
गत बुधबार र बिहीबार निर्धारित उडान तालिकामा रहेका क्याबिन क्रुहरूले विमानस्थलहरूमा गई हाजिर गरेर उड्न इन्कार गरेपछि बुधबार काठमाडौंबाट दिल्ली, मुम्बई, दुबई र मलेसियाको उडान प्रभावित भएको थियो।
त्यस्तै बिहीबार पनि रियाद, दिल्ली, दोहा, मलेसिया, बैङलोरको उडान प्रभावित भएको थियो। बिहीबार बेलुका भने निगमले क्याबिन क्रुहरूसँग छलफल गरी माग सम्बोधन गर्ने निर्णय गरेको थियो।
करारमा रहेर १५ वर्ष सेवा गरेका दुईजना विमान परिचारिकालाई बिनाकारण सेवामा निरन्तरता नदिएको विरोधमा नेपाल वायुसेवा निगमका क्याबिन क्रुले हड्ताल गरेका थिए।
आन्दोलनका बेला साथ नदिई उडानमा सहभागी भएर व्यवस्थापनलाई सघाएको आरोपमा नौ जना एयरहोस्टेसलाई उनीहरूकै सहकर्मीले दर्व्यवहार गरेकोमा पनि समितिको गम्भीर ध्यान आकर्षण भएको बताइएको छ।
कार्यस्थलभित्र हुलहुज्जत लगायत सहकर्मीप्रति गरिने यस्ता अमर्यादित व्यवहारले हवाइ सुरक्षामा असर पर्ने देखिएकाले यस्ता गतिविधिलाई निरूत्साहित गर्न व्यवस्थापनद्वारा तत्काल कदम चाल्न र पीडित कर्मचारीको मागउपर आवश्यक विभागीय कारवाही अगाडी बढाउन माग गरेको छ।