दोलखाको कालिञ्चोकबाट पैदल यात्रा सुरू गरेका अभिनय कार्की २७ दिनमा (सोमबार) बिहान इलामको श्रीअन्तुमा पुगेका छन्।
'आजको योगदान, पर्यटनको प्रवर्द्धन' भन्ने सन्देशलाई प्रवाह गर्दै उनले गत मंसिर ६ गते दोलखाको कालिञ्चोकबाट यात्रा सुरू गरेका थिए।
धुलिखेलमा उनी एकसाता बसे। यसअघि गरेका यात्राभन्दा फरक र रमाइलो बनाउनका लागि उनले यसपटक भिडियो बनाउँदै युट्युबमा अपलोड गर्दै हिडेको बताए।
'कालिञ्चोकबाट सुरू भएको यात्रा खरिढुंगा हुँदै सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा, काभ्रेको जिरी किलोबाट धुलिखेलसम्म आइपुगेँ' यात्राबारे उनी भन्छन्, 'धुलिखेलमा आएर एक सातासम्म बसे।'
एकसाता बसाइपछि काभ्रेबाट बिपी राजमार्ग हुँदै हिडेर सिन्धुलीगढी, मदन राजमार्ग हुँदै उदयपुर, इटहरी, झापा हुँदै इलाम पुगेको बताए।
'यात्रा अविस्मरणीय रह्यो, पहिले हिडिसकेको बाटोभन्दा फरक बाटो खोजेँ' उनी खुसी हुँदै भन्छन्, 'कतिपय जंगलको बाटोमा हराएँ पनि प्रहरीसँग समन्वय गरेँ, पुर्व तयारी भन्दा पनि फरक किसिमले यो यात्रा सफल पारेँ।'
पैदल र साइकलमार्फत मुलुकभर भ्रमण गरिरहेका कार्की देशभित्र रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले हिडिरहेको बताउँछन्।
'मोटिभेसन फ्रम द सिचुएशन' अर्थात् परिस्थिति बाटै प्रेरणा नामक शीर्षक दिइएको अभिनयको यो यात्रा तेस्रो हो।
यसअघि उनले २०७७ साल फाल्गुनमा मेची–महाकाली पैदल यात्रा गरेका थिए।
आफ्नो जन्म उत्सवको अवसर पारेर विश्वभर सुख, शान्ती, समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै नेपालसहित सयभन्दा बढी देशहरूको राष्ट्रिय झण्डा बोकेर नेपालको पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरेका थिए।
त्यस्तै, गत वर्षको पुसमा उनले दोस्रो चरणको यात्रा गरेका थिए। कार्कीले दोस्रो चरणमा साइकलको माध्यमबाट १९९ दिनमा देशका सबै जिल्लाहरू भ्रमण गरेका थिए।
कार्कीले त्यस चरणको यात्रामा समुदाय स्तरमा पुगेर ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणको लागि युवाहरू एकजुट बनौँ’ भन्ने सन्देश पुयाएका थिए।
अभिनयले अब साइकल यात्रा मार्फत छिमेकी राष्ट्र भारतको न्यू दिल्ली र ताजमहल घुम्ने योजना बनाएका छन्।