पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यती एयरलाइन्सले 'डेमो' उडान गरेका छन्।
काठमाडौंबाट यात्रु बोकेर पोखरा आएको विमान अन्तर्राष्ट्रिय विमानस्थल पुगेर डेमो उडान गरेका हुन्।
यात्रुलाई पोखरा विमानस्थल ओरालेपछि विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पुगेको थियो।
विमानस्थल ‘फेमिलिअराइजेसन’का लागि दुइटा एयरलाइन्सलाई डेमो उडानको अनुमति दिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।
‘दुबै एयरलाइन्सका जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुबैतर्फबाट उडान र अवतरण गरेका छन्,’ उनले भने, ‘डेमो उडान सफल भएकाले जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हामीलाई उत्साही बनाएको छ।’
उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गर्दा दुबै विमान विमानस्थलमाथि घुमेका थिए।
नयाँ विमानस्थलमा जडान गरिएका सामग्री परीक्षण गर्न यसअघि नै ‘क्यालिब्रेसन फ्लाइट’ भइसकेको छ।
डेमो उडानका क्रममा जहाज उडाउन र ल्याण्ड गर्न अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी टावरबाट निर्देशन दिइएको थियो। विमानस्थल आउँदा जनवरी १ देखि सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराबाट उडान थप्ने बुद्ध एयरले जानकारी दिएको छ।
डेमो उडानपश्चात् प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् आन्तरिक र अन्तर्राष्ट्रिय उडान थप्ने जनाएको छ।
अहिले पनि बुद्ध एयरले पोखराबाट काठमाडौं, भरतपुर लगायतका स्थानमा आन्तरिक उडान भर्दै आएको छ।
अहिले पोखरा विमानस्थलबाट दैनिक करिब ३ हजार यात्रुले सुविधा लिएका छन्।
अहिलेको आन्तरिक विमानस्थल बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालनमा छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि रात्रिकालीन सेवा पनि सञ्चालन गर्ने तयारी गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले बताए।
‘अन्तर्राष्ट्रिय विमानस्थलबाट हामीले रात्रिकालीन उडान पनि सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसले स्वाभाविक रूपमा आन्तरिक उडान थपिन्छ, यात्रुले थप सुविधा पाउनेछन्।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको काशी–वाराणासी जोड्न नेपाल र भारतका सम्बन्धित निकायलाई पत्राचार गरिसकेको कर्णले बताए।
पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्न बुद्ध एयर लागेको भन्दै उनले अनुमति पाए दिल्ली, देहरादुन लगायतका भारतीय गन्तव्यमा उडान भर्ने तयारी गरेको बताए।