नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई दिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा खारेज गरेको छ। बिहीबार बसेको प्राधिकरणको बोर्ड बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णय खारेज गरेको हो।
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिँदा नेपाल वायुसेवा निगमको आम्दानी २० प्रतिशत गुम्ने भएकाले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ। निगमले हाल सेल्फ र कमर्सियल ग्राउन्ड ह्यान्डलिङ गर्दै आइरहेको छ।
यसअघि प्राधिकरणले २०७७ असोज ४ मा हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ह्यान्डलिङको अनुमति दिएको थियो। प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ निर्देशिका २०७२ को नियम ४ अनुसार हप्ताको ३५ भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चाहेपछि आफ्नो ह्यान्डलिङ आफैं गर्न पाइने (सेल्फ ह्यान्डलिङ) पाउने व्यवस्था छ। हिमालयले हप्तामा ४० भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सेल्फ ह्यान्डलिङको अनुमति पाएकाे एक वर्षभित्र ग्राउन्ड इक्युपमेन्ट किनेर सेवा सुरू गर्नुपर्छ। तर कोभिडकाे समयमा हिमालयले उक्त सेवा सुरू गर्न सकेन।
'एयरलाइन्सले अनुमति नवीकरणका लागि अनुमति मागेको थियो,' सूचना अधिकारी भुलले भने, 'तर अहिलेको आर्थिक अवस्थामा निगमलाई सहयोग पुग्ने गरी प्राधिकरणले यो निर्णय गरेको हो।'
हाल राष्ट्रिय ध्वजाबाहक निगम अप्ठ्यारोमा अवस्थामा रहेकाले निगमलाई नै कमर्सियल ह्यान्डलिङ गर्न दिने निर्णय गरिएको उनले बताए।