सरकारले पर्यटकको प्रतिदिन खर्च १२५ डलर पुर्याउने गरी रणनीतिक कार्ययोजना तयार पारेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन दशक (२०२३–२०३२) का लागि यस्तो रणनीतिक कार्ययोजना तयार पारेको हो।
जसअन्तर्गत पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउनुका साथै देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्याउने लक्ष्य छ। मन्त्रालयले उक्त रणनीतिक कार्ययोजना शुक्रबार सार्वजनिक गरेको हो।
कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रूपमा केही गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३२ माई नेपाल पर्यटन दशकको अवधारणा अघि सारेको हो।
कुनै एउटा वर्षलाई मात्र कन्द्रीत गरेर कार्यक्रम गर्नु भन्दा क्रमिक रूपमा सबै प्रदेश र सिंगो देशले पनि केही कार्यक्रम गदै जाँदा पर्यटन चलायमान हुने पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए।
उनकाअनुसार कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न यो कार्ययोजनाले सहयोग पुग्नेछ।
'यी कार्ययोजनामा केन्द्रले मात्र होइन प्रदेश र स्थानीय तहको पनि उत्तिकै भूमिका रहन्छ' मन्त्री श्रेष्ठले भने, 'पर्यटन पूर्वाधार तयार पार्ने कुरामा सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ।'
मन्त्रालयले नेपाल पर्यटन दशक २०२३–२०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरू सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी २००९ पुस ७ मा आफ्नो प्रतिवेदन बुझाएको थियो।
प्रस्तावित अभियान :
- कार्ययोजनाको खाकाले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्नेछ।
- पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्याउनेछ।
- ततपश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशत वृद्धि गरी सन् २०३२ सम्मा संख्या ३५ लाख पुर्याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ।
- यी लक्ष्य प्राप्त गर्न संस्थागत सुदृढस्करण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढिकरण तथा विस्तार, पर्यटन प्रवर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन प्रवर्द्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गरिनेछ।
- मन्त्रालयले तयार पारेको खाकाअनुसार आगामी १० वर्षमा विभिन्न प्रदेशमा हरेक वर्ष पर्यटन सम्बन्धी अभियानहरू हुनेछन्।
- खाकाअनुसार सन् २०२३ मा कार्ययोजना निर्माण तथा योजना तर्जुमा लगायतका कार्यहरू हुनेछन्।
- सन् २०२४ मा बाग्मती प्रदेशमा, सन् २०२५ मा गण्डकी प्रदेशमा सांस्कृतिक तथाा पर्यटनसम्बन्धी अभियान हुनेछ।
- त्यस्तै सन् २०२६ मा राष्ट्रिय स्तरको अभियान कार्यक्रम गरिनेछ।
- सन् २०२७ मा लुम्बिनी प्रदेशमा, २०२८ मा मधेश प्रदेशमा, २०२९ मा सुदूरपश्चिम प्रदेशमा, २०३० मा प्रदेश नम्बर १ मा र २०३१ मा कर्णााली प्रदेशमा फरकफरक अभियान सञ्चालन हुनेछ।
सन् २०३२ लाई भने राष्ट्रिय अभियानका रूपमा मनाइने बताइएको छ।