हवाई सेवा तथा पर्यटन प्रवर्द्धनका लागि क्वाललम्पुर र पेनाङमा नेपाल सेल्स मिसन मलेसिया सम्पन्न भएको छ।
नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम, नेपाल टुरिजम बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्टस्को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
१६ डिसेम्बरमा क्वालालम्पुर र १९ डिसेम्बरमा पेनाङमा उक्त कार्यक्रम गरिएको थियो।
कार्यक्रमको पर्यटन मन्त्रालयका सचिव सुरेशराज अधिकारीले नेपालमा मेलेसियन पर्यटक भित्र्याउन मलेसियाका पर्यटन व्यवसायीहरूलाई आह्वान गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहजीकरणका कार्यहरू गरिने बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. धनञ्जय रेग्मीले मलेसिया तथा नेपालका पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगमसँग सहकार्य गरी बिक्री योग्य प्याकेजको डिजाइन गरी प्रवर्द्धन गरिने जानकारी दिए।
त्यस्तै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटक भित्र्याउने योजनामा सरकारले महत्वपूर्ण खम्बाको रूपमा काम गर्ने र यसबाट समग्र आर्थिक विकासमा योगदान पुर्याउनुका साथै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए।
त्यसैक्रममा २० डिसेम्बरमा क्वालालम्पुरमा 'एजेन्ट सेल्स मिट एण्ड इन्टर्याक्सन' कार्यक्रम समेत सम्पन्न भएको छ।
उक्त कार्यक्रममा निगमको कार्यकारी अध्यक्षले निगमको भावी योजना बताउँदै मलेसिया सेक्टरमा उडान संख्या वृद्धि गर्ने योजनाका साथै एजेन्टबाट आएका पृष्ठपोषणहरू सम्बोधन गरिने बताए।
यसै सिलसिलामा नेपाल वायुसेवा निगम र मलेसियास्थित नेपाली दूतावासबीच नेपाल वायुसेवा निगमलाई प्रवर्द्धन गर्न दूतावासको वेबसाइटमा निगमसम्बन्धी जानकारी राख्ने विषयमा छलफल भएको छ।
साथै विभिन्न शहरहरूमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम गर्ने सम्झौता भएको छ।