पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ।
सौर्य एयरलाइन्सले सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो।
हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले एयरलाइन्सले पोखरा उडान गरेको थिएन।
आज 'प्रुभन फ्लाइट' भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्नेछ।
विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने समेत जनाएको छ।
युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवम् द्रुत गतिको मानिन्छ।
आज प्रुभन फ्लाइट सम्पन्न भएसँगै काठमाडौं–पोखरा–काठमाडौं फ्लाइट नियमित गरिने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए।
सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास अध्यक्ष पाखरेलको छ।
'हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु। आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु', अध्यक्ष पोखरेलले भने।
यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको यस एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौं र पोखराका पर्यटन व्यवसायीहरूसँग समन्वय गर्दै सेवालाई थप चुस्त बनाउने पोखरा स्टेसनका स्टेसन इन्चार्ज जितेन्द्र यादवले बताए।
पोखराको इतिहासमै पहिलो पटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुशीको कुरा भएको उनको भनाइ छ।
'पोखराको इतिहासमा पहिलो पटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ', स्टेसन इन्चार्ज यादवले भने, 'हाम्रा लागि मात्र नभई यो यात्रुका लागि समेत खुशीको कुरा हो।'
सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ। यात्रुको चाप अनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने इन्चार्ज यादवले जानकारी दिए।