त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर एरिया डेभलपमेन्टको काम सुरू भएको छ।
तीन वर्षमा सम्पन्न गर्ने गरी आयोजनाको काम सुरू भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।
ह्यांगर सेवा थप व्यवस्थित बनाउनका साथै एयर ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजना अगाडि बढाइएको हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इञ्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए। यसका लागि ४ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ।
आयोजनाका निर्देशक इञ्जिनियर श्रेष्ठकाअनुसार हाल सञ्चालित नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्यांगर स्थान्तरणका लागि चिनियाँ निर्माता कम्पनी सिसिइसिसी केडिएन एयरपोर्ट इन्जिनियरिङ जेभिलाई ठेक्का दिइसकेको छ।
'विमानस्थलको पूर्वपट्टि हेलिकप्टर पार्किङका प्रयोग गरिएको जग्गामा सेना र निगमको ह्यांगर स्थानान्तरण गर्न लागिएको हो' उनले भने, 'सुरूमा सर्भे र साइट क्लियरको काम हुन्छ त्यसपछि निर्माणको काम सुरू हुन्छ।'
ह्यांगर एरिया डेभलपमेन्टको काम सम्पन्न भएसँगै उत्तरपट्टि रहेको क्षेत्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरू हुने आयोजनाले जनाएको छ।