संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ) द्वारा नेपाल पर्वातारोहण संघ (एनएमए), ट्रेकिङ्ग एजेन्सिन् एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
७ दिन भित्र माग सुनवाई र सम्झौता कार्यान्वयन नभए उक्त संस्था विरूद्ध चरणवद्ध आन्दोलन र तालाबन्दी गर्ने जोटुफले चेतावनीसमेत दिएको छ ।
जोटुफले २०७९ भदौ २८ गते ट्रेकिङ एजेन्सिन् एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) विभिन्न सात बुँदे मागपत्र बुझाएको स्मरण गराएको छ। त्यस्तै २०७९ साउन १७ गते नेपाल पर्वतारोहण संघ र संयुक्त पर्यटन ट्रेड युनियन फोरमविच विभिन्न १० बुँदे सम्झौता गरेको थियो।
लगभग ५ महिना बितिसक्दा पनि उक्त संस्थाहरूले संयुक्त ट्रेड युनियनका मागपत्र र सम्झौताप्रति कुनै चासो नदेखाएकोले जोटुफ रूष्ट बनेको छ। साथै पत्र दर्ता भएको मितिले ७ दिन भित्र वार्ता, संवाद र छलफलको माध्यमबाट टुङग्याउन कार्यसमितिलाई गम्भीर ध्यानार्कषण गराएको छ।
साथै नेपाल पर्वतारोहण संघ र संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) बिच भएका विभिन्न १० बुँदामा सम्झौता यथाशिघ्र कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ।
यदि पत्रको वेवास्ता गरेको खण्डमा ७ दिन पश्चात कानुनी प्रक्रिया बमोजिम जोटुफ आवद्ध ६ वटा ट्रेड युनियनहरू टान, नाट्टा र एनएमए विरूद्ध चरणवद्ध आन्दोलन र तालाबन्दी समेत गर्न बाध्य हुने चेतावनी दिएको छ।