सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाको आकर्षण बढाउन सरकारले छुट दिने निर्णय गरेको हो।
यससँगै पोखरा विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले अवतरण, विसान, सञ्चार र सुरक्षा शुल्कमा शत प्रतिशत छुट पाउने भएका छन्।
'सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अवतरण, विसान, सञ्चार र सुरक्षा शुल्कमा शत प्रतिशत छुट दिने निर्णय भएको छ' उनले सेतोपाटीसँग भने।
गत जेठ २ गतेबाट सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि विभिन्न सेवा शुल्कमा छुट दिइरहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरी (पुस १७)मा उद्घाटन हुँदैछ।