होटल संघ नेपालले अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव बुझाएको छ।
संघ अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले बुधबार अर्थमन्त्रीसमक्ष संरक्षणार्थ प्रस्तुत गरेको हो।
अर्थमन्त्री नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष राणाले यसअघि मन्त्रीको कार्यकालमा भएका सहयोगी निर्णयका लागि होटल संघ नेपाल कृतज्ञता व्यक्त गर्दै गुमेका उपलब्धी पुनः प्राप्त हुनेमा अपेक्षा राखिन्।
अध्यक्ष राणाले कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरू व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको स्पष्ट पारिन्।
कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि यसका स्वरुपहरू फैलिरहेका र क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रूपमा घाटामा सञ्चालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरूले माग गरेका ज्वलन्त समस्याहरू समाधानका लागि पनि राणाले आग्रह गरिन्।
साथै, नेपाल राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा निर्देशिका तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पनरूत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगको रूपमा कानुनमै व्यवस्था गर्नेबारे पनि छलफल भएको थियो।
संघले तत्कालका लागि तीन बुँदे सुझाव समाधानका लागि पेश गरेको छ।
ब्याजदर सम्बन्धमा : बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाउनुपर्ने।
समय सीमा सम्बन्धमा : बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरू आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरण हुनुपर्ने।
पुनतालिकीकरण र पुनर्कर्जा सम्बन्धमा : मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध गरेको छ।
उक्त अवसरमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागि परेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, कार्यसमिति सदस्यहरू गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, सदस्यहरू शशिकान्त अग्रवाल, रानि बाङलगायतको उपस्थिति थियो।