होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्दैछ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरूलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रबारदेखि तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको संघले जनाएको छ।
बुटवल वडा नं. ९ तिनकुने चोकदेखि माथि नयाँ बसपार्कसम्म निर्माणाधिन कालिकापथ सडकको दायाँबायाँ आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका एक सय बढी स्टल राखिनेछन्।
संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ बजेदेखि राति १२ बजेसम्म संचालन हुने सडक खाना महोत्सवको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवर्द्धन लागि सघाउ पुर्याउने गौतमले बताए।
संघले यसअघि २०७५ सालमा पहिलो र ०७६ सालमा दोस्रो सडक खाना महोत्सव आयोजना गरेको थियो।
कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत वैशाख १ गते बुटवलकै हिलपार्कमा तेश्रो खाना महोत्सव आयोजना गरेको थियो। यसपटक चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए।
संघका महासचिव माधवप्रसाद खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।