भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिना पुग्न लाग्दा पनि विमानस्थलमा जडान गरिएको 'इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम' प्रयोग हुन सकेको छैन।
जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको थियो।
जाडो र वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ।
इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) हुस्सुका कारण भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण हो।
तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त आइएलएस जडान गरी त्यसको क्यालिब्रेसन समेत भइसकेको भए पनि संचालनमा नआउँदा उडान अवतरण प्रभावित भइरहेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइएलएस उपकरणको प्रयोगपछि जहाज उडान र अवतरण गर्दा भारतीय आकाश समेत प्रयोग हुने भएपछि भारत सहमत नहुँदासम्म उपकरण प्रयोग गर्न नसकिएको बताए।
‘आइएलएस जडान गरिएको भए पनि त्यसको प्रयोग गर्दा भारतीय आकाश पनि प्रयोग हुन्छ कि भनेर नेपाल सरकारले भारत सरकारसँग अनुमति लिनुपर्ने देखिएको छ,’ दाहालले भने।
दाहालका अनुसार भारतले आफ्नो आकाश प्रयोग हुने भएपछि आइएलएस सञ्चालनका लागि सहमति दिएको छैन।
गौतमबुद्ध विमानस्थल भारतीय सीमासँग अत्यन्त नजिक छ।
गर्मीयाममा अत्यन्त गर्मी हुने भैरहवामा जाडोयाममा चिसोसँगै बाक्लो हुस्सु तथा शितलहर चल्ने गर्छ। बाक्लो हुस्सु र शितलहर सुरू भएपछि नजिककै वस्तु समेत देखिँदैन। जसले गर्दा जहाजको उडान अवतरण प्रभावित भइरहन्छ।
विमानस्थलका अनुसार जहाजलाई उडान तथा अवतरणका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। हिउँदयाम सुरू भएपछि भैरहवामा साँझ बिहानको भिजिबिलिटी पाँच/छ सय मिटर मात्रै हुने गर्छ।
बाक्लो हुस्सु र शितलहर चलेको दिन त भिजिबिलिटी त्योभन्दा पनि थोरै हुन्छ।
महाप्रबन्धक दाहालका अनुसार भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकियोस् भनी यहाँ क्याटेगरी १ को आइएलएस सिस्टम जडान गरिएको थियो। क्याटेगरी १ को आइएलएस सिस्टमको प्रयोगले भिजिबिलिटी ५ सय ५० मिटरमात्रै हुँदा पनि सहजै विमान उडान–अवतरण गर्न सकिन्छ।
तर आइएलएस सिस्टम जडान गरिएको भए पनि पुस महिना लागेसँगै हुस्सुका कारण भैरहवाबाट हुने उडान अवतरण नियमित र समयमा हुन सकेका छैनन्। ४३ अर्ब खर्चेर निर्माण गरिएको विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडान–अवतरण रोकिएका छन् भने स्वदेशी वायुसेवाका जहाजहरूको उडान पनि प्रभावित भइरहेका छन्।
यसअघि हप्तामा तीन दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो सेवा बन्द गरेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार आइएलएस सिस्टम जडानका लागि मात्रै करिब १० करोड रुपैयाँ लगानी भएको छ। केही उपकरण थप गर्न सके विमानस्थलमा प्रयोग भइरहेको क्याटेगरी २ को आइएलएस सिस्टमबाट पनि ३ सय ५० मिटरकै भिजिबिलिटीमा जहाज उडान–अवतरण गर्न सकिने विमानस्थलले जनाएको छ।
तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावमा भएको उपकरणसमेत संचालनमा नआउँदा विमानस्थल आलोचित बन्दै गएको छ। अर्बौं खर्चिएर बनाएको विमानस्थललाई फुलफेजमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका यहाँका पर्यटन व्यवसायीहरू निराश बन्न थालेका छन्।
नेपाल ट्राभल्स एण्ड टुर्स एजेन्ट संघ (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्त खराब मौसमका कारण उडान अवतरण स्थगित हुन थालेपछि पर्यटन व्यवसाय प्रभावित भएको बताउँछिन्।
‘पुस, माघ, फागुन पर्यटकहरू घुम्न रूचाउने महिना हुन्, पर्यटकको आफ्नै समय, गन्तव्य र प्याकेज हुन्छ, यस्तो समयमा उडान रद्द गर्नुपर्दा पर्यटकहरू नमिठो मान्ने गरेका छन्,’ पन्तले भनिन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्रले पनि यस क्षेत्रमा उल्लेख्य लगानी गरेका छन्। तर पूर्ण रूपमा विमानस्थल संचालनमा नआउँदा यहाँको निजी क्षेत्रलाई चिन्ता थपिएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेले उपकरणको प्रयोग गर्न नसक्दा उडान प्रभावित हुँदै गएको र त्यसको प्रभाव यहाँका निजी क्षेत्रलाई पर्ने गरेको बताए।
पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी तारे होटल निर्माण भइरहेका छन्।
‘होटल, सपिङ कम्प्लेक्स लगायतका क्षेत्रमा निजी क्षेत्रले करोडौं लगानी लगाए पनि विमानस्थलमा उडान अवतरण प्रभावित हुँदा व्यवसाय नै चौपट हुने अवस्थामा पुगेको छ,’ न्यौपानेले भने।
२०७९ जेठ २ गतेदेखि सुरू भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म १ सय ५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। त्यत्ति संख्यामै अवतरण भएका छन्।
विमानस्थलका महाप्रबन्धक दाहालका अनुसार यो अवधिमा १३ हजार ५ सय ९३ जना यात्रु विमानस्थलमा अवतरण गरेका छन् भने १८ हजार २५ जनाले यहाँबाट उडान सेवा लिएका छन्।