पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो।
३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको निर्माण लागत लगभग २१.६ करोड अमेरिकी डलर (झन्डै २९ अर्ब रुपैयाँ) छ।
चीनले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरिसकेको यो विमानस्थल आजबाट औपचारिक रूपमा सञ्चालनमा आउँदैछ।
सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।
कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाजका पाइलटलगायतलाई पनि फूलमालाले स्वागत गर्ने कार्यक्रम छ। अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो।
सेतोपाटीले केही समय अगाडि यसको भिडिओ टुर गरेको थियो। हेर्नुहोस् भिडिओ