सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं-पोखरा-काठमाडौं उडान सुरू गरेको छ।
विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले पुस १७ गतेदेखि काठमाडौं-पोखरा-काठमाडौं दैनिक दुई उडान सुरू गरेको हो।
आन्तरिक उडानतर्फ पहिलो पटक सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत पोखरामा जेटमार्फत उडान थालेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।
काठमाडौं–पोखरा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ।
काठमाडौं विमानस्थलबाट उडेको १६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण हुने उनले बताए।
एयरलाइन्सले नियमित उडान गर्नुअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको थियो।
युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवम् द्रुत गतिको मानिन्छ।
सौर्यले हाल विभिन्न ६ गन्तव्यमा उडान गरिरहेको छ।