गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ।
आइतबार तारा एयरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन्न भएसँगै नियमित उडान हुने भएको हो।
एयरका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार (आज) प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने बताए।
'नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछ' उनले भने, 'यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्नेछ।'
आज बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो।
यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो।
उक्त वायुयानलाई तारा एयरका वरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले उडान गरेको प्रवक्ता बर्तौलाले बताए।
उनकाअनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू रहेका थिए।