यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको पाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरेर उक्त जहाज आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको उल्लेख गरेको छ।
जहाजले पोखरा टावरसँग १०:५० मा सेती खोच भन्ने स्थानबाट सम्पर्कमा आएको र सो पछि उक्त विमान दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।