गत आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ।
मंगलबार काठमाडौं आएको उक्त टोली अध्ययनका लागि दुर्घटनास्थल पोखरा पुगिसकेको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।
उनकाअनुसार एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको हो।
'एटिआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ' उनले सेतोपाटीसँग भने, 'आफ्नो कम्पनीले बनाएको विमान किन र कसरी दुर्घटना भयो भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ।'
यसअघि सरकारले गठन गरेको दुर्घटना जाँच आयोग पनि उक्त टोलीसँग पोखरा पुगेको छ।
विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।
आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन्।
साथै, हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।