गत जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए- यो नेपालको लागि ऐतिहासिक दिन हो। नेपालको पर्यटन विकासमा गौतमबुद्ध विमानस्थलले सबैभन्दा बढी फाइदा दिनेछ।
उनको भाषण सुनेर पर्यटन व्यवसायी सबभन्दा बढी खुसी भएका थिए।
विमानस्थललाई नै लक्षित गरेर पर्यटन व्यवसायमा अर्बौं लगानी गरेका व्यवसायीहरू विमानस्थलको सञ्चालनमा आउँदा खुसी हुने नै भए। विमानस्थल चल्न थालेपछि यहाँको आर्थिक क्षेत्र चलायमान हुन्छ भन्ने सपनासहित पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरूको आशा अहिले निराशामा बदलिँदै गएको छ।
विमानस्थल उद्घाटनसँगै व्यवसायिक रूपमै अन्तर्राष्ट्रिय उडान सुरू गरेको कुवेतको जजिरा एयरलाइन्स र ६ महिनापछि उडान सुरू गरेको हिमालयन एयरलाइन्स दुवैले उडान स्थगित गरेपछि यस क्षेत्रका व्यवसायी चिन्तित बनेका छन्।
विमानस्थल प्रशासनका अनुसार हिमालयन एयरलाइन्सले गत डिसेम्बर २० देखि र जजिरा एयरवेजले २१ डिसेम्बरदेखि उडान स्थगित गरेका छन्। एयरलाइन्सहरूले खराब मौसमका कारण भिजिबिलिटी नपुगेको भन्दै उडान स्थगित गरेको भने पनि मौसम सुधार भएपछि पनि उडान सुरू होला र पर्यटन क्षेत्र फस्टाउला भन्नेमा पर्यटन व्यवसायीहरू विश्वस्त बन्न सकेका छैनन्।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार विमानस्थललाई लक्षित गर्दै भैरहवा र लुम्बिनी आसपासमा तारे होटलहरू निर्माण भइरहेका छन्। श्रेष्ठका अनुसार मध्यमस्तरका होटलसँगै चारतारे र पाँचतारे होटलहरू बनिरहेका छन्। तिनमा यति नै लगानी भयो भन्ने आँकडा नभए पनि ३० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको अनुमान छ।
भैरहवा आसपासमा मध्यम तथा स्तरीय गरी १ सय ४६ वटा होटल भएको उनले जानकारी दिए। सिद्धार्थ होटल संघमा मात्रै बाह्य पर्यटक केन्द्रित ८९ वटा होटल आबद्ध छन्।
बुद्ध जन्मस्थल लुम्बिनी नेपालको महत्वपूर्ण सम्पदासँगै विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र मानिन्छ। विश्वभरका बौद्धमार्गीहरू एकपटक लुम्बिनी आउने चाहना राख्छन्। लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि बौद्धमार्गी पर्यटकहरूको ओइरो लाग्छ भन्ने अपेक्षा थियो।
तर विमानस्थल सञ्चालन भएको आठ महिनासम्म उडान गरेको एउटा मात्रै एयरलाइन्सले पनि उडान स्थगित गरेपछि पर्यटक क्षेत्रमा गरिएको अर्बौं लगानी धराशायी बन्छ की भन्नेमा व्यवसायीहरू चिन्तित बनेका हुन्।
‘नेपालबाट धेरै मुलुकमा सिधा कनेक्टिभिटी हुन सके मात्र पर्यटन क्षेत्रमा प्रभाव पार्ने हो। एउटा मात्रै एयरलाइन्सले उडान सुरू गरेकाले विमानस्थल सञ्चालन भए पनि पर्यटन क्षेत्रमा कुनै प्रभाव पार्न सकेको थिएन,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विमानस्थलमा हल्काफुल्का भिडभाड देखिएजस्तो भए पनि व्यवसाय नै फस्टाउने गरी केही प्रभाव पार्न सकेको थिएन। तर त्यही उडान पनि स्थगित भएपछि निजी क्षेत्रको अर्बौं लगानी धराशायी बन्ने खतरा देखिएको छ।’
सरकारले हवाई रूट र आइएलएस (थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण) सञ्चालनका लागि भारतसँग अनुमति नलिएसम्म विमानस्थल सञ्चालनबाट पर्यटक भित्र्याउन नसकिने उनको भनाइ छ।
श्रेष्ठका अनुसार आठ महिनाको अवधिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका ९५ प्रतिशत यात्रु वैदेशिक रोजगारीमा जाने–आउने नेपाली रहेकाले पर्यटक स्तरका होटलमा बास बस्न आउनेहरू अत्यन्त न्यून थिए।
विमानस्थल सञ्चालनसँगै यहाँका व्यवसायी र स्थानीयले एयरलाइन्सहरू थप गरी भैरहवाबाट दिल्ली, थाइल्यान्ड, चीन लगायत बुद्धिष्ट मुलुकमा उडान गर्न माग गर्दै आएका थिए। जजिरा एयरलाइन्सले उडान सुरू गरेपछि नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाइ दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएको विमानस्थल प्राधिकरणले बताउँदै आएको थियो।
तर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनु त परको कुरा, भएको उडान पनि रोकिएको छ।
पर्यटन व्यवसायी किशोर जोशीले विमानस्थलले यहाँको आर्थिक क्षेत्र चलायमान बन्छ भन्ने विश्वास हराउन थालेको बताए।
‘विमानस्थल सञ्चालन भएपछि यहाँको आर्थिक क्षेत्र चलायमान हुन्छ भन्ने हाम्रो वर्षौंदेखिको सपना थियो। त्यो सबै चकनाचुर हुने हो कि भन्ने डर छ,’ उनले भने।
सरकारले विमानस्थलमा लगाएको अर्बौं लगानी हेरेर निजी क्षेत्रले अर्बौं लगानी गरेको उनको भनाइ छ।
‘विमानस्थल चल्न नसक्दा रूपन्देही जिल्लावासी, खासगरी पर्यटन व्यवसायीहरू दुखी छौं,’ उनले भने।
एकपटक सञ्चालन भएर रोकिएको विमानस्थल पुनः सञ्चालन गर्न धेरै मेहनत गर्नुपर्ने भन्दै उनले सरकारले जतिसक्दो छिटो पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने बताए।
मौसमकै कारण भिजिबिलिटी नपुगेको भन्दै आन्तरिकतर्फका उडान पनि नियमित हुन सकेका छैनन्। यसअघि दैनिक २० देखि २५ वटा उडान हुँदै आएकोमा अहिले आधा उडान घटेका छन्।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय सबैभन्दा उत्तम मानिन्छ। अधिकांश मुलुकका पर्यटकले यही अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्। पर्यटक आउने मुख्य सिजनमै उडान नियमित छैन।
विमानस्थल सञ्चालनपछि जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो। जसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए। जजिराले यहाँ गर्दै आएको उडानलाई काठमाडौं केन्द्रित गरेको छ।
करिब ४३ अर्ब रूपैयाँ लगानीमा बनेको विमानस्थलले प्राधिकरणलाई हरेक महिना आर्थिक भार थपिरहेको छ। विमानस्थल सञ्चालन महाशाखा प्रमुख हिराजन काफ्लेका अनुसार विभिन्न तह, सेवा र समूहका गरी एकसय ५१ जना कर्मचारी दरबन्दीमा थपिएका छन्। दस जना दैनिक ज्यालादारीमा काम गरिरहेका छन्। यसअघि आन्तरिक विमानस्थल मात्र रहँदा ३६ जना मात्रै कर्मचारी थिए।
अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि कर्मचारी फुर्सदिला बनेका छन् भने विमानस्थललाई आर्थिक भार थपिएको छ।
देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा यो विमानस्थल अगाडि बढाइएको थियो। ५० वर्षसम्मको अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने गरी निर्माण गरिएको दाबी गरिएको यो विमानस्थलबाट बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्छन्।
विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान (पार्किङ) शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।