संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमलाई व्यवस्थापकीय सुधारमा ध्यान दिन निर्देशन दिएका छन्।
सोमबार निगममा पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले निगमका ससाना समस्याका कारण उडानमा भएको समस्यालाई मध्यनजर गर्दै व्यवस्थापकीय सुधारमा ध्यान दिन निर्देशन दिएका हुन्।
'सानो उपकरण नभएर कति दिनसम्म निगमको जहाज ग्राउन्डेड भइरहेको हुन्छ। यसमा हामीले सुधार्न सक्ने ठाउँ होला' उनले भने, 'सानातिना उपकरणहरू त स्टकमा पनि राख्न सकिन्छ। त्यसकारण व्यवस्थापकीय सुधारमा ध्यान दिनुपर्छ।'
पर्यटन सचिव अधिकारीले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अन्य कम्पनीलाई दिइने विषयमा हालसम्म कुनै पनि छलफल नभएको बताए।
तर निगमलाई आम्दानी मुल उद्देश्यका रूपमा ग्राउन्ड ह्यान्डलिङलाई नलिन उनले अनुरोध गरे। कुनै पनि एयरलाइन्स कम्पनी जहाज उडाएरै बाच्नुपर्ने र त्यसबाटै नाफा गर्नुपर्ने उनको भनाइ छ।
'हालसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले नै सञ्चालन गरिरहेको छ गर्दै गर्छ' उनले भने, 'तर कुनै पनि वायुसेवा सञ्चालकको ध्यान उडानमा हुनुपर्छ। ग्राउन्ड ह्यान्डलिङमा होइन।'