महिला उद्यमीका कथा
होम-स्टे अर्थात घरबास। पर्यटकलाई खाना र बासको सुविधा दिने व्यवसाय।
यही व्यवसायमा छिन् भक्तपुरकी उमा थपलिया। उनले आफू बस्ने घरलाई पर्यटक पाहुनाका लागि होम-स्टे मा रूपान्तरण गरेकी छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा छ उनको घर। सडकको छेवैमा तीन तले चिटिक्क सजिएको त्यही घरमा उनले चार वर्षदेखि होम-स्टे चलाइरहेकी छन्।
घरको गेटैमा झुन्ड्याइएको एउटा बोर्डमा लेखिएको छ– होम-स्टे क्याफे।
झट्ट हेर्दा उमाको होम-स्टे सामान्य घरजस्तै नै छ। भित्र पसेपछि होम-स्टेको झलक आउँछ। सहरको कोलाहलबाट केही पर एकान्त र आनन्दको अनुभूति गर्न चाहनेलाई आफ्नो होम-स्टे राम्रो विकल्प हुने उमा बताउँछिन्।
'हस्पिटालिटीमा केही काम गर्ने सोचले आफू बसिरहेकै घरलाई होम-स्टे बनाएकी हुँ,' उनी भन्छिन्, 'पहिले त यस्तो घर पनि होम-स्टे बन्ला र भन्ने लाग्थ्यो, अहिले यही घर धेरैले रूचाउनुभएको छ।'
उमाको होम-स्टेमा आठ वटा कोठा छन्। एकपटकमा १५ जनासम्म पाहुना राख्ने क्षमता छ। एक रात बस्न कोठा हेरेर प्रतिव्यक्ति साढे तीन हजारदेखि साढे चार हजार रूपैयाँसम्म तिर्नुपर्छ। यो मूल्यमा बेलुकाको खाना (डिनर), बास र ब्रेकफास्ट उपलब्ध हुन्छ।
होम-स्टेमा उनले कर्मचारी राखेकी छैनन्। पाहुनालाई आफ्नै हातले बनाएको खाना खुवाउँदै छिन्।
उनका अनुसार खानामा लमजुङको चामलको भात र लमजुङकै आलु पाक्छ। घिउ इलामको खुवाउँछिन्। केही तरकारी आफैं उब्जाउँछिन्। घरनजिकै अलिकति जमिन भाडामा लिएर तरकारी रोपेकी छन्। यति बेला बारीमा काउली, ब्रोकाउली, लसुन, धनियाँ, साग र अन्य केही तरकारी छ।
'फुर्सदको समय बारीमा बिताउँछु। यी सागसब्जी देख्दा पनि खुसी लाग्छ,' बारीतिर देखाउँदै उनी भन्छिन्, 'मौसमअनुसार तरकारी लगाउँछु, पाहुनालाई यहीँबाट टिपेर खुवाउँछ। यहाँको खाना अर्गानिक छ।'
नामैले थाहा हुन्छ, यहाँ होम-स्टेसँगै क्याफेको व्यवस्था छ। रात बस्न वा दिउँसो घुम्न पुग्नेहरूले खाजासँगै कफी पिउन पाउँछन्। उमाका अनुसार समूहमा आउने पाहुनाले कहिलेकाहीँ कफी खोज्छन्। क्याफे चलाएर यस्ता पाहुनाको आवश्यकता पूरा गर्न चाहेको उनले बताइन्।
होम-स्टेको भुइँतला क्याफेका लागि सजावट गरेकी छन्। क्याफेमा एक पटकमा २५ जनासम्मले कफी पिउन सक्छन्। घरको पहिलो तलामा बैठकसहित कफी सप छ। त्यहीँ बसेर खाजा र खाना खान पाइन्छ।
होम-स्टे र क्याफे आकर्षक बनाउन घर वरपरिको खाली जमिनमा बगैंचा बनाउँदै छिन्। हालसम्म होम-स्टे क्याफेका लागि ६० लाख रूपैयाँभन्दा केही धेरै लगानी भएको उनले बताइन्। बगैंचामा बसेर पनि कफी पिउन मिल्ने बनाउन उनी लागिपरेकी छन्। दोस्रो तलामा स्विट रूम बनाउने तयारीमा छिन्।
'होम-स्टेमा आउन विदेशी पर्यटकका लागि योग गर्ने व्यवस्था पनि गर्दैछु,' उमाले सेतोपाटीसँग भनिन्, 'आफैं पकाएर खान चाहनेलाई पनि सुविधा दिन्छौं। तर केही महँगो हुनेछ।'
तेस्रो तलामा सेमिनार हल छ। हलबाहिर कौसीमा बसेर पनि खान मिल्ने गरी तयारी गर्दै छिन्। कौसीबाट काठमाडौं उपत्यकासँगै चाँगुनारायण मन्दिर, नगरकोट लगायत ठाउँका दृश्य हेर्न पाइन्छ। यसकारण आगन्तुकका लागि कौसी रोजाइमा पर्ने उनको विश्वास छ।
भन्छिन्, 'कौसी सिसाले बारेर झिलीमिली बनाउने सोच छ। दिउँसो र साँझ बस्नेका लागि आकर्षक बनाउनु छ।'
हाल उमा खाजा र खानाको नयाँ मेनु पनि तयार पार्दै छिन्। उनका अनुसार मेनुमा धेरै परिकार हुने छैन तर विशेष हुनेछ। स्वादिलो परिकार बनाउनु उमाको रूचि हो। फुर्सदमा युट्युब हेर्छिन् र परिकार बनाउन सिक्छन्। यही बानीले होम-स्टे चलाउन सघाउ पुगेको उनको भनाइ छ।
होम-स्टे चलाउने योजना बन्नुमा उमाका श्रीमानको पनि अप्रत्यक्ष योगदान छ।
'श्रीमानले प्रायः विदेशी साथीहरू घरमा ल्याइरहनुहुन्थ्यो। उहाँहरूलाई मैले बनाएको खाना असाध्यै मनपर्ने,' उनले भनिन्, 'ती विदेशीले होम-स्टे चलाउन सुझाव दिएपछि मैले आँट गरेकी हुँ।'
आँट त गरिन् तर त्यसको अनुभव न उनीसँग, न परिवारमा कसैसँग।
होम-स्टे त सुरू गर्ने, तर कहाँ?
सोच्दासोच्दै जवाफ आइहाल्यो- आफ्नै घरलाई बनाउने!
यति भएपछि आफ्नो परिकल्पना लिएर उनी काठमाडौं उपत्यकाका होटल र होम-स्टेहरू घुमिन्। कतै चिया–कफी पिइन् त कतै खाजा–खाना खाइन्। खानाका परिकार र अन्य व्यवस्थाबारे कुरा बुझिन्। केही सञ्चालकहरूसँग कुरा पनि गरिन्।
उनले भनिन्, 'यो यात्रामा म एक्लै थिएँ। काम गर्छु भन्ने आत्मविश्वास लिएर अघि बढेकी थिएँ।'
एक महिनाको घुमाइ र अवलोकनले उनको आत्मविश्वास बलियो बनायो। विदेशीलाई लक्षित गरिएको यो होम-स्टेमा फ्रान्सेली, अमेरिकी, बेलायती, जर्मन पर्यटकको संख्या बढ्दो क्रममा थियो। वर्ष दिनमै होम-स्टे कोरोना संक्रमणको चपेटामा पर्यो।
अवस्था सामान्य भएपछि उमाले स्वदेशीका लागि पनि होम-स्टे खुला गरिन्। उनका अनुसार हाल काठमाडौंबाट सिधै सम्पर्क गरेर वा बुकिङ डटकम मार्फत पाहुनाहरू पुग्ने गरेका छन्।
यो होम-स्टे र क्याफे उनको व्यवसायसँगै जीवनको सन्तोष र सारथि पनि हो।
भन्छिन्, 'होम-स्टे क्याफे मेरा लागि बुढेसकालको सहारा पनि हो।'
उमा पहिल्यैदेखि आत्मनिर्भर र सक्षम व्यक्ति बन्न चाहन्थिन्। आफ्नै मेहनतले केही व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो। एसएलसी परीक्षापछि उनले जागिर गरिन्। एक दशकअघि साथीसँगको सहकार्यमा सोलार पावर कम्पनी पनि खोलेकी थिइन्।
निकै ठूलो लगानीमा खोलेको कम्पनी केही समय राम्रै चले पनि बिस्तारै खस्किँदै गयो। व्यवसाय बन्द भयो। उमाले भनिन्, 'केही कुरामा ध्यान पुर्याउन नसक्दा कम्पनी घाटामा गयो, सबै छोडेर बसेँ।'
एक पटकको असफलताका कारण सधैं खाली बस्ने कुरा थिएन। त्यसैले उनी होम-स्टेतिर लागेकी हुन्। यो व्यवसाय विस्तार गर्न उनी कस्सिएकी छन्।
६ महिनाअघि उनी नबिल बैंकको 'नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप' तालिममा पनि सहभागी भएकी थिइन्। नबिलले यस्तो तालिम उद्यमी तथा व्यवसायी महिलाहरूलाई दिन्छ। त्यसले यो तालिमबाट व्यवसाय अगाडि बढाउन ठूलो मद्दत पुगेको उमा बताउँछिन्।
'व्यावसायिक विज्ञहरूलाई ल्याएर राम्रो तालिम दिइएको थियो,' उनले भनिन्, 'तालिममा व्यवसाय सफल हुन वा बनाउन के गर्ने वा नगर्ने भन्ने कुरा समेत सिकाइएको हुन्छ। व्यवसायका धेरै कुराहरू सिक्ने अवसर पाएँ, त्यो कार्यक्रमले आँट, हिम्मत र साहस दियो।'
महिलाहरू घरायसी काममा मात्र सीमित नभई कुनै व्यवसायमा सक्रिय हुन उनी सुझाव दिन्छिन्।
'महिला भएकै कारण सक्दिनँ भनेर बस्न हुँदैन। बढी काम गर्न सक्छु भनेर अघि बढ्नुपर्छ,' ३६ वर्षीया उमा भन्छिन्, 'महिलामा शक्ति हुन्छ। आत्मविश्वासका साथ अघि बढ्न मेरो अनुरोध छ।'