गत सोमबार अभिनेत्री उषा रजकको एउटा भिडिओ चर्चामा आयो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भर्याङ (ट्राभलेटर) अगाडि भिडिओ बनाएकी थिइन्।
उक्त ट्राभलेटर अव्यावहारिक र असहज भएको भन्दै उनले गुनासो पोखेकी थिइन्।
'यो एकदमै खतरनाक छ। म र मेरो बच्चा झन्डै लड्यौं,' उनले भनिन्, 'ट्राभलेटर ठाडो छ। अव्यावहारिक छ। ट्रली चिप्लिन्छ। त्यो दिन (सोमबार) मेरो अगाडिका मानिसले ट्रली थेग्न नसकेर लडे। यसपछि सबै ट्रली अड्किएर थुप्रिए। हामी पनि अड्कियौं।'
उनीहरू जसोतसो तल झरे। तर त्यहाँको भीड आक्रोशित भइसकेको थियो।
उषा मात्र होइन, पछिल्लो समय यो ट्राभलेटर प्रयोग गर्ने धेरै यात्रुले यसको गुनासो गरिरहेका छन्। ठाडो चिप्लेटीजस्तो भएकाले जोखिम बढाएको भन्दै धेरैले सामाजिक सञ्जालमा लेखिरहेका हुन्छन्।
यो ट्राभलेटर एक वर्षअघि सञ्चालनमा आएको हो। त्यो बेलादेखि नै विवादमा परेको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अप्ठ्यारो र जोखिमपूर्ण संरचना बनाएको भन्दै विमानस्थल र निर्माण कम्पनीविरूद्ध धेरै मानिस खनिएका छन्।
हामीले यसको संरचना र बनावटबारे विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई सोध्यौं। उनले यो ट्राभलेटरको प्रयोग गलत भएको स्वीकार गरे। यसलाई सुधार्ने पहल सुरू गरिसकेको भन्दै उनले यहाँ ट्रली लिएर भन्दा पनि एउटा-दुइटा लगेज मात्र लिएर प्रयोग गर्दा सहज हुने बताए।
'ट्राभलेटरमा एउटा-दुइटा लगेज मात्र बोकेर तल झर्दा सहज हुन्छ,' उनले भने, 'ट्रलीका लागि लिफ्ट नै प्रयोग गर्ने हो। यस्तो अभ्यास हामीकहाँ मात्र होइन, विश्वभर नै छ। हामीकहाँ भने असफल भयो।
उनका अनुसार एकाध झोला भएका यात्रु यहाँबाट सजिलै उत्रिन सक्छन्। धेरै झोला छ र ट्रलीमा राख्न परे लिफ्ट प्रयोग गर्नुपर्छ।
विमानस्थलमा यात्रुको धेरै चाप छ। दैनिक ६ हजारभन्दा बढी यात्रु नेपाल प्रवेश गर्छन्। एकपटकमा डेढ सयदेखि तीन सयसम्म यात्रु विमानस्थलमा ओर्लिन्छन्। अधिकांश यात्रुको सामान भइहाल्छ। त्यस्तोमा यहाँ जम्मा तीन वटा लिफ्ट छन्। एउटा लिफ्टमा सामानसहित मुश्किलले तीन जना अटाउँछन्। धेरै यात्रु भएकाले लिफ्ट चढ्न लामो समय पर्खिनुपर्ने बाध्यता छ। यात्रुलाई हतार भइसकेको हुन्छ। त्यसैले ट्राभलेटरकै प्रयोग बढी हुनु स्वाभाविक हो।
तर जोखिमपूर्ण भएको भन्दै यात्रुहरूले उक्त ट्राभलेटर हटाउन वा सुधार्नपर्ने भनिरहेका छन्।
महाप्रबन्धक ठाकुर विमानस्थलमा लिफ्टको यात्रुवहन क्षमता कम भएको पनि स्वीकार गर्छन्। त्यसैले भइरहेको संरचना हटाउनु भन्दा समस्या समाधानतिर लाग्नुपर्ने उनको भनाइ छ।
'बनेको संरचना हटाउनुभन्दा यो जसरी सहज हुन्छ, त्यसकै लागि प्रयोग गर्न सकिन्छ। यात्रुको सुविधाका लागि अर्को लिफ्ट थप्ने योजना छ। एकैपटकमा १०/१२ जना यात्रु चढ्न मिल्ने लिफ्ट बनाउन हामीले कम्पनीलाई भनिसकेका छौं,' उनले भने।
हालका लागि ट्राभलेटरमा ट्रली नलिई, एउटा लगेज बोकेर यात्रा गर्न दिइने उनले बताए। यात्रुको चाप कम गर्न ठूलो लिफ्ट बनाइने उनको भनाइ छ।
विमानस्थल व्यवस्थापक आइएमएसका अध्यक्ष दीपक मलहोत्राले पनि ट्राभलेटर सञ्चालनमा आएपछि ससाना दुर्घटना भइरहेको स्वीकार गरे।
यहाँका तीनवटा लिफ्ट पनि आइएमएसले बनाएको हो। आगमन कक्ष निर्माण जिम्मा उसैले पाएको थियो। यी लिफ्ट एक पटकमा ६ जना अट्न मिल्ने गरी नै डिजाइन गरिएको थियो। तर तयार हुँदा तीन जना मात्र अट्ने भएको अध्यक्ष मलहोत्राले बताए।
'डिजाइनअनुसार लिफ्ट तयार हुन सकेन। यात्रु संख्यालाई लिफ्टले नधानेपछि हामीले ट्राभलेटर बनाएका हौं,' उनले भने।
यो लिफ्टसहित नयाँ टर्मिनल भवन कोरोना महामारीकै समयमा सञ्चालनमा आएको हो। त्यति बेला हवाइ यातायात सेवा बन्द थियो। कोभिडपछि बिस्तारै खुल्दै जाँदा लिफ्टमा यात्रुको भीड हुन थाल्यो। त्यसलाई सहज बनाउन सम्बन्धित निकायसँगको सरसल्लाहमै विकल्पका रूपमा ट्राभलेटर बनाउने निर्णय भएको उनको भनाइ छ।
'त्यति बेला लिफ्टको क्षमताले नधानेपछि कम्पनीसँग दुइटा विकल्प थियो, ट्राभलेटर वा ठूलो लिफ्ट बनाउने। हामीले ट्राभलेटर रोज्यौं। तर यो जोखिम भइदियो,' उनले भने।
उनका अनुसार कम्पनीले दुई करोड रूपैयाँ हाराहारीमा यो ट्राभलेटर बनाएको हो। तर दुर्घटना र समस्याका घटना बारम्बार दोहोरिएपछि कम्पनीले अब ट्राभलेटरमा ट्रली नछिर्ने गरी बार लगाउने तयारी गरेको छ।
अब एउटा-दुइटा लगेज बोकेर हिँड्नेहरूले मात्र ट्राभलेटर प्रयोग गर्न पाउने छन्।
'एउटा लगेज मात्र भएकालाई ट्राभलेटरबाट जाँदा समस्या हुँदैन,' उनले भने, 'ट्रली प्रयोगकर्तालाई भने ट्राभलेटर प्रयोग गर्न नदिन भनेका छौं।'
त्यस्तै १२ जना यात्रु एकैपटकमा ट्रलीसहित यात्रा गर्न मिल्ने लिफ्ट चाँडै तयार हुने उनको भनाइ छ।