नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नाफिज संवादमा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको नियमित चेक जाँचमा त्रुटी हुन सक्ने बताए।
मुलुकभर एयरलाइन्सको संख्या बढ्दै गएपनि यससँग सम्बन्धित विज्ञ इन्जिनियरको अभाव रहेको उनको भनाइ छ। यसका लागि दक्ष जनशक्ति बढाउनुपर्ने उनी बताउँछन्।
'एटिआर जहाजको एरोनोटिकल इन्जिनियरले हेलिकप्टरको समेत नियमन गर्नुपर्ने अवस्था छ,' उनले भने, 'एउटा जहाजको विज्ञले अर्को जहाजको सबै थाहा पाउन सक्दैन। एरोनोटिकल इन्जिनियर थप गर्नुपर्छ।'
त्यस्तै, हवाई क्षेत्रको नियमन कडाइ गर्न सेवा प्रदायक र नियामक छुट्टाउनु पर्ने उनले बताए।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी टुक्राउने विधेयक अघि बढाएको छ। पछिल्लो समय विभिन्न देशले सेवा प्रदायक र नियामक छुट्याउन थालेसँगै नेपालमा पनि छुट्याउनु पर्ने विषय उठेको थियो।
युरोपेली संघ (इयु)ले नेपालको नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको छ।
अहिलेसम्म नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध कायमै छ।
इयुले नेपाललाई कालोसूचीमा राख्दै नियमन कडा हुनुपर्ने बताउँदै आएको छ।
सरकारले विधेयक अघि बढाएपनि पछिल्लो समय प्राधिकरण नेतृत्व नटुक्राउने पक्षमा रहेको छ। प्राधिकरण नेतृत्वले नियामावली बनाएर सेवा प्रदायक र नियामकका कर्मचारी सरुवा गर्न नमिल्ने बनाउँदा समस्या समाधान हुने बताउँदै आएको छ।
'छुट्टै निकाय नबनाउँदा स्वार्थ बाँडिने सम्भावना जहिलेपनि हुने रहेछ,' नाफिज संवादमा उनले भने, 'कार्यगत रुपमा मात्रै जिम्मेवारी तोकेर स्वस्थ्य नियमन हुने देखिदैन।'
उनले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको प्रतिवेदन दिँदा पनि इयुले नदिनुमा नेपाललाई हेपेको बताए।
आइकाओको विश्व औसत परिपालना दर ६७.२ प्रतिशत हो। नेपालले अहिले ७०.८ प्रतिशत अंक पाइसकेको छ। तर पनि इयुले नेपाललाई कालो सूचीबाट हटाउन चाहिरहेको छैन।
'म आफैं महानिर्देशक हुँदा प्राधिकरण जबसम्म टुक्रिदैन तबसम्म ब्याल्क लिष्टबाट हटाउँदैनौ भनेका थिए', उनी भन्छन्, 'इयुले भनेकै कारणले प्राधिकरणलाई दुइटा निकाय बनाउनुपर्छ भन्ने छैन। तर अहिलेकै अवस्थामा विमान कम्पनी र विमानस्थलको नियमन कडाइ गर्न अप्ठयारो छ।'
हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाई सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए। नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको भनाइ छ।