नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री वितरणमा भएको समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।
निगमले बुधबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्ने गरी समिति गठन गरेको हो।
समितिमा निगम र नाट्टाका दुबै पक्षका ४/४ जना सदस्य रहेका छन्। आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन्।
त्यस्तै, नाट्टाकातर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन्।
टिकट बिक्री वितरणमा हुने समस्यालाई सहजीकरण, ग्रुप फेयर, उडानसम्बन्धी प्रभावकारी जानकारी लगायत विषयमा छलफल भएको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।
उनकाअनुसार यसले निगमको हवाइ टिकट बिक्री वृद्धि गर्नका साथै विदेशी पर्यटक भित्र्याउनका लागि सहयोग पुग्नेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत सोमबार निगम निरीक्षण गर्दै निगमबाट भइरहेका सेवालाई प्रभावकारी बनाउँदै एक महिनाभित्र अनलाइन टिकटको व्यवस्थापन गर्न निर्देशन दिएका थिए। यसबारे पनि काम भइरहेको प्रवक्ता खड्काले बताइन्।