त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आइएमएस ग्रुप व्यवस्थापनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
यो समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेज पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिँदै कम्पनीले विज्ञप्ति जारी गरेको छ।
‘हामी सम्पूर्ण यात्रुहरूको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं भन्ने सम्पूर्णलाई विश्वास दिलाउन चाहन्छौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष निर्माण गर्दा हाम्रो प्राथमिकता र ध्यान सम्पूर्ण नेपाली तथा विदेशी यात्रुहरुका लागि अन्तर्राष्ट्रियस्तरको सुविधा र पर्याप्त पार्किङ गर्ने स्थानको व्यवस्थापन रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भीडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको कम्पनीको भनााई छ।
आइएमएस एयरपोर्ट सर्भिसेजले ट्राभलेटरमा सुरक्षित रुपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरु खरिद गरेर उपलब्ध गराउँदै त्यसको व्यवस्थापनमा पनि सहजीकरण गरेको उल्लेख छ।
ह्विल लकिङ सिस्टम नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले देखि नै प्रयोेगमा रहेका ट्रलीहरु प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरुसँग मिसमास भइरहे पछि ट्राभलेटरमा ती पुराना ट्रलीहरुका कारण एकभन्दा धेरै लगेज भएका यात्रुहरुका लागि समस्या भएको विज्ञप्तिमा भनिएको छ।
यात्रुहरुले यसका कारण भोग्नु परेको समस्या सम्बोधन गर्न आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने कम्पनीले बताएको छ। जसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुनेछ र समस्याहरु न्यूनिकरणमा सहयोग गर्ने विश्वास लिइएको छ।
ट्राभलेटरमा यात्रुहरुले दुःख नपाउन् भन्ने उद्देश्यले सहयोग गर्न, सहज बनाउन र गाइड गर्न २४ सै घन्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरिएको कम्पनीले बताएको छ। त्यहाँ के गर्ने र के नगर्ने भन्ने जानकारीका दिन तथा यात्रुहरुलाई सूचित गर्नका लागि त्यहाँ साइनबोर्डको राखिएको कम्पनीको भनाई छ।