कोभिड–१९ महामारीबाट असर गरेको पर्यटन बजारलाई सुधार ल्याउन हङकङले विश्वभरका पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गर्ने भएको छ।
कोरोना महामारीपछि विश्वलाई स्वागत गर्न तयार रहेको हङकङले पर्यटकलाई विशेष अफर ल्याएको हो।
आफ्नो देश घुम्न आउने यात्रु तथा पर्यटकलाई खुल्ला रूपमा आकर्षित गर्न हङकङ पर्यटन बोर्डले ५ लाख यात्रुलाई निःशुल्क हवाई टिकट दिन लागेको छ।
हङकङ पर्यटन बोर्डले ‘हेलो, हङकङ’ को नामबाट यो अफर सुरू गरेको छ।
करिब पाँच लाख यात्रुलाई हवाई टिकट र भौचरमार्फत नि:शुल्क हवाई टिकट दिने निर्णय भएको हङकङ पर्यटन बोर्डले जानकारी दिएको छ।
हङकङ पर्यटन बोर्डका कार्यकारी निर्देशक जोन लीले पर्यटन अभियान ‘हेलो हङकङ’ को बिहीबार सुरू गर्दै हङहङले सम्भवतः संसारको सबैभन्दा ठूलो स्वागत गर्न लागेको दाबी गरे।
उनले हङकङ घुम्न आउने जो कोहीले अब निर्वाध रूपमा कुनै प्रतिवन्ध, कुनै क्वारेन्टाइनको सामना गर्नु नपर्ने बताए। ‘पर्यटक, व्यापारिक यात्री र लगानीकर्ताका लागि हङकङ भ्रमणको यो उपयुक्त समय हो’, उनले भने।
हङकङ पर्यटन बोर्डका कार्यकारी निर्देशक डान चेङले एयरलाइन्सलाई सपोर्ट गर्न नि:शुल्क टिकट खरिद गरिएको बताए।
‘हामी आशा गर्छौं कि निःशुल्क हवाई टिकट पाउनेले दुई वा तीन जना आफन्त र साथीहरू सँगै ल्याउनेछन्’, उनले भने, ‘हामी विश्वस्त छौ कि यो अभियानले करिब १.५ मिलियन भन्दा बढी पर्यटक हङकङ आउनेछन्।’
यो योजना मार्चमा सुरु भएर करिब ६ महिनासम्म चल्ने विमानस्थल प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फ्रेड लामले बताए।
हङकङ पर्यटन बोर्डका कार्यकारी निर्देशक डान चेङले एयरलाइन्सलाई सपोर्ट गर्न नि:शुल्क टिकट खरिद गरिएको बताए।
‘अहिले कोरोनाको महामारी बिस्तारै अन्त्य हुँदैछ’, हङकङ पर्यटन बोर्डले आधिकारिक ट्वीटमा भनेको छ, ‘नमस्ते, हङकङ! हामी तपाईंलाई फेरि स्वागत गर्न तत्पर छौं। हङकङ भ्रमणको मजा लिन तपाईँलाई पाँच लाख फ्री एयर टिकट र भौचर दिइनेछ।’
कोरोना महामारीका कारण हङकङ लामो समयदेखि बन्द थियो। हालै मात्र कोभिड यात्रा प्रतिबन्धहरू फिर्ता गरिएसँग हङकङ खुला भएको हो।
पर्यटकको अभावमा विगत तीन वर्षदेखि धेरै नोक्सान भोगेको हङकङको पर्यटन उद्योगले पुनर्जीवन पाउने आशा गरिएको छ।
सन् २०२० सम्म, हङकङ, विश्वको सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य थियो। कोरोना महामारी सुरू हुनुअघिको वर्षमा मात्र ५६ मिलियन पर्यटक हङकङ पुगेका थिए। तर, कोरोना प्रतिबन्ध र चीनको शून्य कोविड नीतिका कारण त्यसपछि पर्यटकको संख्यामा उल्लेखनीय गिरावट आएको छ।
विमानस्थल प्राधिकरण हङकङका प्रमुख कार्यकारी अधिकृत फ्रेड लाम टिन फुकका अनुसार नि:शुल्क टिकट हङकङस्थित एयरलाइन्स क्याथे प्यासिफिक, एचके एक्सप्रेस र हङकङ एयरलाइन्सले वितरण गर्नेछन्।