होटल तथा रेस्टुरेन्टमा कार्यरत मजदुरहरूका तीनवटा केन्द्रीय संगठनले आगामी फागुन ७ बाट देशभरिका होटल तथा रेस्टुरेन्ट बन्द गराउने चेतावनी दिएका छन्।
सर्वोच्च अदालतले होटल तथा रेस्टुरेन्टमा लिइँदै आएको १० प्रतिशत सेवा शुल्क नलिन आदेश दिएपछि उनीहरूले होटल तथा रेस्टुरेन्ट बन्द गराउने चेतावनी दिएका हुन्।
नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै आफूहरूको माग पूरा नभए देशव्यापी रूपमा आन्दोलनमा जाने बताएका छन्।
सर्वोच्च अदालतको निर्णयले होटल क्षेत्रमा आवद्ध श्रमिकहरू मर्कामा परेको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष कुमार पन्तले बताए।
आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले सेतोपाटीलाई बताए।
'हामीले जे प्राप्त गरेका छौं त्यसलाई कानुनी रूपमै सम्बोधन गरेर सर्भिस चार्ज भन्ने हो की व्यवसायीहरूले आफ्नो मूल्यबाट श्रमिकहरूलाई सुविधा थपिदिने हो यो विषयमा वार्ता हुनुपर्यो' उनले भने,'हामीले पाएको सुविधा हट्नु भएन हाम्रो माग यति हो।'
अध्यक्ष थापाका अनुसार आज (आइतबार)बाट सबै होटल तथा रेस्टुरेन्टमा चरणबद्ध आन्दोलन सुरू भइसकेको छ।
पहिलो चरणमा होटल तथा रेस्टुरेन्टमा कालो ब्यानर राखेर विरोध थालिएको उनले बताए। अहिले होटलका श्रमिकहरू कालोपट्टी बाधेर काम गरिरहेका छन्। यससँगै फागुन ७ गतेसम्म विरोधसभाका कार्यक्रम रहेका छन्।
'एउटा श्रमिकले १८ वर्षदेखि खाइपाई आएको सुविधा एक्कासी अदालतले हटाइदिएपछि आन्दोलन गर्नुको विकल्प रहेन', उनले भने, 'माघ २७ गतेदेखि बुकिङ रोक्छौं। फागुन ७ बाट सबै होटल बन्द गराउँछौं।'