विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शिलान्यास गरेका हुन्।
२ अर्ब ४२ करोड (भ्याटबाहेक) लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरको हुनेछ।
टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ। गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण सक्ने गरी केसी डाफे जेभीले ठेक्का लिएको विमानस्थल प्रशासनले जनाएको छ।
२०२५ मा बनेकोभन्दा अत्याधुनिक भवन बन्ने भएको हो। विमानस्थलको धावन मार्ग पनि विस्तार हुने महानिर्देशक अधिकारीले बताए। धावन मार्ग २७० मिटर विस्तार हुने उनको भनाइ छ।