उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा भारतबाट आएका प्रतिनिधि मण्डल र होटल संघ नेपालबीच पर्यटन प्रवर्द्धनका लागि छलफल भएको छ।
कोभिडपछिको पर्यटनलाई बढावा दिने उद्देश्यले आइतबार काठमाडौंमा होटल संघले उक्त प्रतिनिधि मण्डलबीच छलफल भएको हो।
उक्त प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै होटल संघ नेपालका अध्यक्ष सृजना राणाले दुई देशबीचको पर्यटन प्रवर्द्धन सशक्त ढंगबाट गरिनुपर्ने बताइन्।
उनले उदयपुर होटल संघका अध्यक्षमार्फत नेपालमा भारतीय पर्यटकहरूलाई भ्रमणका लागि प्रचारप्रसार गरिदिन आग्रह गर्दै नेपालको सातै प्रदेशलाई समेटेर तयार पारिएको नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी पुस्तक हस्तान्तरण गरिन्।
उदयपुर होटल संघ भारतका अध्यक्ष दोशीले होटल संघ नेपालले गरेको आतिथ्यताको सराहना गर्दै आगामी दिनमा होटल संघसँग सहकार्य गर्दै दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सशक्त भएर अगाडि बढ्ने बताए।