विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ। पर्यटनमन्त्री सुदन किराँतीले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका छन्।
विराटनगर विमानस्थलका अनुसार २ अर्ब ४२ करोड (भ्याटबाहेक) रुपैयाँ लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरमा बन्नेछ।
टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ। गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण सक्ने गरी केसी डाफे जेभीले ठेक्का लिएको विमानस्थल प्रशासनले जनाएको छ।
२०२५ मा बनेकोभन्दा अत्यधुनिक भवन बन्ने भएको हो।
विमानस्थलको धावनमार्ग पनि विस्तार हुने महानिर्देशक अधिकारीले बताए। धावनमार्ग २७० मिटर विस्तार हुने उनको भनाइ छ।