पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भोलिदेखि रात्रिकालीन सेवा दिने भएको छ।
यसअघि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको विमानस्थलले अब रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल भोलिदेखि १८ घण्टा सञ्चालन गर्न लागिएको प्रमुख विक्रम गौतमले बताए।
‘भोलिदेखि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल संचालनमा आउँछ, यसका लागि सबै तयारी पूरा छ,’ उनले भने, ‘कुन-कुन विमान कम्पनीले कतिबेला उडान भर्ने उहाँहरूको कुरा हो।’
अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गतेदेखि संचालनमा आएको थियो। विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ। सोही प्रणालीले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने गौतमले बताए।
यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीका आधारमा संचालन गरिएको थियो। उक्त प्रणालीमा एटिसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्थे। भिएफआर प्रणालीका तुलनामा आइएफआर प्रणाली सुरक्षित हुने गौतमले बताए।
आइएफआर प्रणाली लागू भएसँगै अब पोखरामा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि संचालन गर्न सकिने भएको छ। यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो।
आइएफआर प्रणालीमा यस्ता समस्याले विमानलाई कुनै असर नगर्ने गौतमले बताए।
पोखरा विमानस्थलले रात्रिकालीन सेवा दिने भएपछि बुद्ध एयरले रात्रिकालीन उडानको तयारी गरेको छ।
पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए।
‘हामीले पोखराबाट राती ८ बजे काठमाडौं उडान भर्ने योजना बनाएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार रात्रिकालीन सेवा थपिन सक्छ।’
बुद्धले फागुन २५ गतेदेखि पोखरा काठमाडौं रात्रिकालीन उडानको तयारी गरेको कर्णले जानकारी दिए।
अहिले पोखराबाट बुद्ध एयरले काठमाडौं, भैरहवा, चितवन र नेपालगञ्ज उडान भर्दै आएको छ। यसअघि पोखराबाट जनकपुर समेत बुद्धले उडान गरेको थियो।
अहिले जनकपुर उडान भने रोकिएको छ। बुद्ध एयरका प्रवक्ता कर्णले अब पोखराबाट झापाको भद्रपुर उडान भर्ने तयारी गरेको बताए।
‘यात्रुको माग कहाँ कहाँ छ त्यो हेरेर थप उडान गर्छौं,’ कर्णले भने, ‘पोखरा आउने मान्छे घुम्न फिर्न आउने हुन्, पोखराका मान्छे पनि अन्त घुम्न जानुपर्यो।’