नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीहरूलाई बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। अब उडानको नयाँ तालिका (समर सेड्युल) लिनुअगाडि बक्यौता चुक्ता गर्न बिहीबार वायुसेवा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको हो।
आगामी मार्च १ बाट लागू हुने समर सेड्युल यही फागुन १६ गतेभित्र पेस गर्न र कम्पनीहरूले विमानस्थल सेवा सञ्चालन गरेबापत २०२२ डिसेम्बर ३१ सम्म तिर्न बाँकी सबै रकम बुझाउन सम्बन्धित वायुसेवालाई पत्र पठाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नेपाल वायुसेवा निगमसहित आन्तरिक उडान गरिरहेका बुद्ध, यती, श्री, समिट, तारा, गुण, सीता र सौर्य एयरलाइन्सलाई पत्र पठाएको हो।
त्यस्तै प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई पनि विमानस्थलमा बुझाउनु पर्ने बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ। प्राधिकरणले प्रधान कार्यालयबाट उडान अनुमति लिनुपूर्व विमानस्थलहरूमा बुझाउनु पर्ने बक्यौता बुझाउन निर्देशन दिएको हो।