नेपाल एयरलाइन्सले दाङको भाडादर घटाएको छ।
नेपाल वायुसेवा निगमका दाङ इञ्चार्ज महेन्द्र शर्माले शनिबारदेखि नै घटाएर आएको भाडादरमा टिकट काट्न सुरू भएको सेतोपाटीलाई बताए।
‘आजदेखि टिकट काट्नेहरूले नै घटेको भाडामा टिकट लिइरहेका छन्,’ उनले भने, ‘यात्रुको मागबमोजिम भाडादर घटाउन हामीले गरेको पत्राचार स्वीकृत भई आएको हो।’
दाङ इञ्चार्ज शर्माले यात्रुको मागबमोजिम आफूले झन्डै २० दिन पहिले नै भाडादर घटाउनका लागि केन्द्रमा पत्राचार गरेको जानकारी दिए।
अब दाङ–काठमाडौं न्यूनतम भाडादर ६ हजार ३ सय रुपैयाँ र काठमाडौं–दाङ न्यूनतम भाडा ६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको उनले बताए।
यसअघि दाङ– काठमाडौंको न्यूनतम भाडादर ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौंदेखि दाङको न्यूनतम भाडादर ९ हजार १० रुपैयाँ थियो।
दाङ एयरपोर्टमा इन्धन डिपो स्थापना भई रिफ्युलिङको सुविधा थपिनु, पहिलेको तुलनामा हवाई इन्धनको मूल्य घट्नु जस्ता कारणले भाडादर घटाइएको दाङ इञ्चार्ज शर्माले जानकारी दिए।
धेरै महँगो पनि नलिने र धेरै सस्तो पनि नगराई सबै यात्रुको पहुँचमा हवाई सेवा पुगोस् भन्ने उद्देश्यले भाडा घटाउन आफूहरूले पत्राचार गरेको र त्यो स्वीकृत भएर आएको उनले बताए।
‘नेपालगञ्जबाट पनि अहिले एभरेजमा ६ हजार जति छ ,’ उनले भने, ‘मान्छेले तुलना गर्दा पनि सुहाउँदो भाडादर नजिकको क्षेत्र दाङमा हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो।’
यात्रुको संख्या बढाएर भए पनि भाडादर सस्तो गराउँदा न्यायिक हुने ठानेर आफूहरूले भाडादर घटाउन पत्राचार गरेको उनले बताए।
आठ जना जाने ठाउँमा बरू १५ जना यात्रु सहजै पठाउन सकिने अवस्था रहेको भन्दै उनले त्यसो गर्दा यात्रु र एयरलाइन्स दुबै मर्कामा पर्दैनन् भन्ने सोचले काम भएको तर्क गरे।
नेपाल एयरलाइन्सले हाल दाङमा हप्ताको चार दिन शनिबार, मंगलबार, बिहीबार र शुक्रबार उडान भर्दै आएको छ।
यही फागुन ३ गतेदेखि निजी विमान सेवा कम्पनी सीता एयरले पनि दाङमा उडान भर्दै आएको छ।
सीताले सोमबार, बुधबार र शनिबार उडान गर्दै आएको छ।